Butwal Today

भोटेकोशी बाढी: वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० गते बुधबार बिहान आएको अचानकको बाढीमा परी घाइते भई वीर अस्पतालमा उपचाररत एक जनालाई आज घर पठाइएको छ ।

अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीपछि वीर अस्पतालमा उपचारका लागि ल्याइएका १७ जना घाइतेमध्ये १६ जना उपचारपछि निको भएर घर गइसकेका छन् । अब एक जना मात्रै उपचाररत छन् ।

हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक डा नेपालले भने, “वीरमा १७ जना घाइते ल्याइएको थियो । १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । अब एक जना मात्रै उपचाररत हुनुहुन्छ ।”

यसैबिच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पतालमा आफन्तजन आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगिरहेका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई पनि निरन्तरता दिइएको छ । उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?