Butwal Today

स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा रुन्टीगढी रोल्पामै प्रथम

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

लिवाङ, रोल्पा । आर्थिक वर्ष २०८२ र ८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको कार्यसम्पादन मूल्याङ्कनमा रुन्टीगढी गाउँपालिका रोल्पा जिल्लाका १० स्थानीय तहमध्ये पहिलो भएको छ ।

जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा प्रस्तुत गरिएको स्वास्थ्य कार्यक्रमको प्रगति मूल्याङ्कनमा रुन्टीगढी गाउँपालिकाले ७१ दशमलव ८५ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लामै प्रथम स्थान हासिल गरेको हो ।

रोल्पामा बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन भएको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा आर्थिक वर्ष २०८२ र ८३ मा स्थानीय तहबाट सम्पादित स्वास्थ्य कार्यक्रमका मुख्य–मुख्य सूचकका आधारमा पालिकाहरूको कार्यसम्पादन विश्लेषण तथा मूल्याङ्कन गरिएको थियो ।

उक्त मूल्याङ्कनमा रुन्टीगढी गाउँपालिका स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट पालिकाका रूपमा अगाडि आएको हो ।

मूल्याङ्कनमा ७१ दशमलव ६८ प्रतिशत अङ्क प्राप्त गर्दै लुङ्ग्री गाउँपालिका दोस्रो भएको छ । त्यसै गरी ७१ दशमलव १३ प्रतिशत अङ्कसहित सुनिलस्मृति गाउँपालिका तेस्रो स्थानमा रहेको छ ।

त्रिवेणी गाउँपालिका ७० दशमलव ९० प्रतिशत अङ्कसहित चौथो, परिवर्तन गाउँपालिका ७० दशमलव ०४ प्रतिशतसहित पाँचौँ र माडी गाउँपालिका ६९ दशमलव ८६ प्रतिशतसहित छैटौँ स्थानमा रहेका छन् ।

थबाङ गाउँपालिका ६७ दशमलव ६४ प्रतिशतसहित सातौँ, गंगादेव गाउँपालिका ६७ दशमलव ५८ प्रतिशतसहित आठौँ, रोल्पा नगरपालिका ६६ दशमलव ३२ प्रतिशतसहित नवौँ र सुनछहरी गाउँपालिका ६० दशमलव ६१ प्रतिशतसहित दशौँ स्थानमा रहेका छन् ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्लाका १० वटै स्थानीय तहलाई गोष्ठीको समापनका अवसरमा बिहीबार कदरपत्रसहित सम्मान गरिएको थियो । स्थानीय तहका प्रतिनिधिलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो । कदरपत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा जनस्वास्थ्य क्षेत्रमा सुधारका लागि स्थानीय तहले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतले स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गर्दै आएको प्रयासले जिल्लाको समग्र स्वास्थ्य अवस्थामा सकारात्मक सुधार ल्याउन सहयोग पुगेको बताए । स्थानीय तहले स्वास्थ्य सेवाका कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रभावकारी रूपमा कार्यान्वयन गर्दा त्यसको प्रत्यक्ष लाभ नागरिकले पाउने उनले बताए ।

उनले स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनले कुन पालिकाले कुन क्षेत्रमा राम्रो काम गरिरहेको छ र कुन क्षेत्रमा थप सुधार आवश्यक छ भन्ने कुरा पहिचान गर्न सहयोग पुग्ने बताए । आगामी दिनमा कमजोर देखिएका सूचक सुधार गर्न र राम्रो कार्यसम्पादन गरेका पालिकाले आफ्ना सफल अभ्यासलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले आफू दोस्रो पटक स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा आएको र छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए । मन्त्री नियुक्त भएको एक दिनपछि नै गृह जिल्ला रोल्पा आएर जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसँग स्वास्थ्य क्षेत्रको अवस्था, समस्या र आवश्यकताका विषयमा जानकारी लिएको उनले बताए ।

स्वास्थ्य मन्त्री पुनले स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र चिकित्सकको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । इन्जिनियरले सडक तथा भौतिक संरचना निर्माण गर्ने भए पनि मानिसको जीवन र स्वास्थ्य जोगाउने काम स्वास्थ्यकर्मीले गर्ने भएकाले स्वास्थ्यकर्मीलाई मानिसको इन्जिनियरका रूपमा लिन सकिने उनले बताए ।

स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाई नागरिकबाट धेरै गुनासो र आलोचना आउने गरेको उल्लेख गर्दै मन्त्री पुनले स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले भाषणभन्दा पनि छोटो समयमा परिणाम देखिने गरी काम गर्नुपर्ने बताए । स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेमा लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन सकिने उनले बताए ।

आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्यकर्मीले राम्रो नतिजा ल्याउने गरी विभिन्न कदम चालिने मन्त्री पुनले बताए । टोल तथा वडास्तरसम्म स्वास्थ्यका विभिन्न गतिविधि सञ्चालन गर्ने र स्थानीय तहमा रहेका स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्ने उनले बताए ।

प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको उल्लेख गर्दै मन्त्री पुनले उपलब्ध बजेटलाई आवश्यकताका आधारमा स्वास्थ्य क्षेत्रमा परिचालन गर्न सकिने बताए । स्थानीय तहले आफ्ना समस्या र आवश्यकतालाई स्पष्ट रूपमा राखेमा उपलब्ध स्रोत र साधनको प्रभावकारी प्रयोग गरी स्वास्थ्य सेवा सुधार गर्न सकिने उनले बताए ।

रोल्पामा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाको व्यवस्थापन र सेवा विस्तारका विषयमा आफूले चासो दिएको मन्त्री पुनले बताए । रोल्पा अस्पताललाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा काम भइरहेको उनले बताए । जिल्लाका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

पछिल्लो समय रसुवामा गएको ठुलो बाढीका कारण प्रभावित भएका रोल्पाली नागरिकको अवस्थाप्रति आफू गम्भीर रहेको पनि मन्त्री पुनले बताए । रसुवामा रहेका केही रोल्पाली नागरिक बेपत्ता भएको जानकारी आएको उल्लेख गर्दै उनीहरू सकुशल भेटिए आफूहरूलाई ठुलो खुसी हुने उनले बताए । प्रभावितको उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आवश्यक पहल गरिएको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीले दुई दिनसम्म सञ्चालन भएको समीक्षा तथा प्रगति कार्यक्रममा स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेका कामको समीक्षा हुनु सकारात्मक भएको बताए । मूल्याङ्कनमा पहिलो, दोस्रो लगायत विभिन्न स्थान हासिल गर्ने पालिकाले आफ्नो उपलब्धिलाई निरन्तरता दिनुपर्ने र पछाडि परेका पालिकाले स्वास्थ्य क्षेत्रमा सुधारका लागि तीव्र गतिमा काम गर्नुपर्ने उनले बताए ।

विकास निर्माणका अन्य क्षेत्रमा केही ढिलाइ भए पनि स्वास्थ्य क्षेत्रमा हुने ढिलाइले मानिसको जीवनमै असर पार्ने भएकाले स्वास्थ्य सेवामा ढिलाइ गर्न नहुने नगरप्रमुख घर्तीले बताए । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले स्वास्थ्यलाई सबै तहका सरकारको उच्च प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले रोल्पाबाटै स्वास्थ्य मन्त्री पाउनु जिल्लाका लागि महत्त्वपूर्ण अवसर भएको बताए । स्वास्थ्य क्षेत्रमा आवश्यक औषधि तथा सामग्री प्राप्त हुने र जिल्लाको स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको उनले बताए ।

विकास निर्माणसँगै स्वास्थ्य क्षेत्रमा पनि प्राथमिकताका साथ काम गर्नुपर्ने र जिल्लाका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने उपप्रमुख परियारले बताए । स्वास्थ्य मन्त्री पुनले जिल्लाको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधारका काम गर्नुपर्ने आवश्यकता रहेको बताए । अस्पताल तथा स्वास्थ्य संस्थामा कतिपय सेवा नियमित सञ्चालन हुन नसक्दा नागरिकबाट गुनासो र आलोचना आउने गरेको उनले बताए ।

रोल्पाबाटै स्वास्थ्य मन्त्री भएकाले जिल्लाको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न थप पहल हुने अपेक्षा गरिएको उनले बताए । अस्पतालमा रोकिएका सेवा नियमित सञ्चालन गर्ने, स्वास्थ्य संस्थाको व्यवस्थापन सुधार गर्ने र नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा प्राथमिकताका साथ काम गर्नुपर्ने उनले बताए ।

गोष्ठीमा स्वास्थ्य निर्देशनालय राप्ती उपत्यकाका अधिकृत कृष्णगोपाल चौधरी, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउत, स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य शाखा प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा स्थानीय तहले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीबारे छलफल गरिएको थियो । आगामी दिनमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने, कमजोर सूचकमा सुधार गर्ने तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा समेत योजना निर्माण गरिएको थियो ।

स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा रुन्टीगढी गाउँपालिका पहिलो स्थानमा पुग्नु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रयास र प्राप्त उपलब्धिको महत्त्वपूर्ण सूचकका रूपमा हेरिएको छ । मूल्यांकनबाट प्राप्त नतिजाले स्वास्थ्य सेवामा स्थानीय तहको लगानी, कार्यक्रम कार्यान्वयन र सेवा प्रवाहमा देखिएको प्रगतिलाई समेत प्रतिबिम्बित गरेको छ ।

जिल्लाका १० वटै स्थानीय तहबीच स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा भएको मूल्याङ्कनले आगामी दिनमा स्वास्थ्य सेवा सुधारका लागि प्रतिस्पर्धात्मक वातावरणसमेत निर्माण गरेको छ । रुन्टीगढीले प्राप्त गरेको पहिलो स्थानलाई कायम राख्दै अझ प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने चुनौती रहेको छ भने अन्य पालिकाले पनि आफ्ना कमजोर सूचक सुधार गर्दै आगामी मूल्याङ्कनमा राम्रो नतिजा ल्याउने गरी काम गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?