© 2026
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भोटेकोशी बाढीमा परेका घाइते तथा सम्पर्कविहीन नागरिकका परिवारलाई जनही ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
नगरपालिकाको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले बाढीमा परेका १३ जना नागरिकका परिवारलाई तत्काल राहत स्वरूप जनही ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । नगरपालिकाका अनुसार कुल तीन लाख ९० हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइनेछ ।
गत भदौ १० गते रोजगारी तथा अन्य कामको सिलसिलामा रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा पुगेका बनगाड कुपिण्डे नगरपालिका, ६ का १३ जना नागरिक भोटेकोशी नदीमा आएको बाढीमा परेका थिए । उनीहरूमध्ये दुई जना घाइते अवस्थामा भेटिएका छन् भने ११ जना अझै सम्पर्कविहीन छन् ।
घाइतेमध्ये गिरिलाल बुढाथोकीको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते ढाकविर यरी भने सम्पर्कमा आइसकेका छन् ।
बाढी आएको दुई दिन बितिसक्दासमेत ११ जना नागरिक सम्पर्कमा नआएपछि उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको नगरपालिकाले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा सुनिता बुढाथोकी, दिला बुढाथोकी, निर्मला बुढाथोकी, निराजन बुढाथोकी, केशव बुढाथोकी, गगन बस्नेत, पवित्रा राना मगर, जितेन्द्र पुन मगर, बिना यरी, दीपिका यरी र चित्रबहादुर पुन मगर रहेका छन् ।
सम्पर्कविहीन नागरिकको खोजीका लागि नगर उपप्रमुख पुरुषोत्तम आचार्यको नेतृत्वमा वडा नं। ६ का वडाध्यक्ष गणेशबहादुर बुढाक्षेत्री तथा पीडितका आफन्त सहितको टोली घटनास्थलतर्फ जाने तयारीमा रहेको छ ।
नगर प्रमुख कर्णबहादुर बुढाथोकीले जिल्ला प्रशासन कार्यालय सल्यान, सङ्घीय सांसद रमेशकुमार मल्ल तथा नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी बेपत्ता नागरिकको खोजी तथा उद्धारमा आवश्यक पहल गर्न आग्रह गरेका छन् ।