© 2026
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन (निगरानी गर्ने ड्रोन) हस्तान्तरण गरेको छ ।
आज प्रहरी प्रधान कार्यालय पुगी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गरे ।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कँडेलको उपस्थिति थियो ।
महानिर्देशक देवेन्द्र लामिछानेले विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन यी ड्रोनले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
उनले कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान तथा उद्धार कार्यको समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले यसअघि ५० किलो क्षमताको एकसहित दुईवटा ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । त्यसै गरी, प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले चेम्बरले १२५ वटा पावर बैङ्कसमेत उपलब्ध गराइएको जनाएको छ ।
चेम्बरले विपद् प्रभावित नागरिकका लागि राहत सङ्कलन तथा वितरण अभियानसमेत अघि बढाएको छ । रसुवा, नुवाकोट तथा धादिङलगायत प्रभावित जिल्लामा भदौ ११ गते तत्कालै नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको चेम्बरले राहत अभियानलाई अगाडि बढाउँदै सहयोगलाई निरन्तरता दिने जनाएको छ ।