Butwal Today

ग्लेसियर फुटेको हो, तत्काल ठुलो जोखिम छैन: सरकार

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठुलो तालबाट ग्लेसियर फुटेको जानकारी प्राप्त भएको जनाएको छ । यद्यपि, तत्काल ठुलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले चीनतर्फको अवस्थाबारे जानकारी गराएका हुन् ।

उनका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । चीनतर्फबाट पनि तत्काल ठुलो जोखिम नरहेको जानकारी प्राप्त भएको उनले बताए ।

‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठुलो जोखिम नरहेको चीनतर्फबाट पनि जानकारी आइरहेको छ । सतर्क रहनका लागि सबैलाई आग्रह गर्न चाहन्छु,’ प्रवक्ता पोखरेलले भने ।

ड्याम फुटेको नभई ग्लेसियर फुटेका कारण लेदोसहितको पानी ओभरफ्लो भएको उनले बताए । ‘कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्लेसियरहरू फुटेका कारण धेरै ठाउँमा पानी लेदोसहित ओभरफ्लो भएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘त्यस्तो ठुलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुन भने आवश्यक छ ।’

यसअघि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएको बताएका थिए ।

हाल नदी आसपासमा रहेका मानिसहरूलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ पठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?