Butwal Today

सल्यानको चाख्लीघाटमा दुई मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

सल्यान । राप्ती राजमार्ग अन्तर्गत सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नं, १ चाख्लीघाटमा बिहीबार दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार साँझ करिब ५ बजेतिर रा ४ प ९४७१ र रा ३ प ४७९५ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनापछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल चाख्लीघाट खोलामा खसेका थिए ।

दुर्घटनामा रा ३ प ४७९५ नम्बरको मोटरसाइकल चालक कुमाख गाउँपालिका, ७ निवासी करिब ३० वर्षीय कमल भन्ने डिल्ली विकको मृत्यु भएको छ । गम्भीर घाइते विकलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ रिफर गरिएको थियो । उनको दाङको घोराहीस्थित संजीवनी शिक्षण अस्पतालमा उपचारका क्रममा साँझ ७ः४९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

यस्तै रा ४ प ९४७१ नम्बरको मोटरसाइकल चालक बागचौर नगरपालिका, २ निवासी करिब ३० वर्षीय धिरज घर्ती र सोही मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय अर्जुन बुढा मगर घाइते भएका छन् । दुवै जनाको टाउकोमा चोट लागेको र थप उपचारका लागि दाङ रिफर गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी  रा ३ प ४७९५ नम्बरको मोटरसाइकलमा पछाडि सवार बागचौर नगरपालिका २ निवासी १९ वर्षीय चन्द्रप्रकाश वली पनि गम्भीर घाइते भएका छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

प्रहरी चौकी ढोरचौरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाएको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?