काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेकाले भोटेकोसी नदीमा जोखिम अझै कायम रहेको जनाएको छ ।
बिहीबार भोटेकोसी नदीमा सम्भावित बाढीको जोखिमसम्बन्धी विशेष सूचना जारी गर्दै महाशाखाले चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो जानकारीका आधारमा यस्तो जोखिम देखिएको जनाएको हो ।
महाशाखाका अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको देखिएको छ । उक्त तालको पानीको सतह बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख छ ।
पछिल्लो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ ।