Butwal Today

रसुवा बाढीमा बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै आएको बाढीमा परी बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार बाढीमा परी बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३०, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बाढीमा घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २२, ग्रान्ड अस्पतालमा १, नर्भिक अस्पतालमा २, मनमैजुस्थित शुभम् अस्पतालमा २, वीर अस्पतालमा २, गिनसिटी अस्पतालमा १, मनमोहन अस्पतालमा २ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

यसैबीच, २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ । उद्धार कार्यमा सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोलीसमेत परिचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?