Butwal Today

परराष्ट्र मन्त्रालयद्वारा आपत्कालीन प्रतिकार्य टोली गठन

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । रसुवा जिल्लामा गएको भोटेकोसीको बाढीबाट ठुलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली (इआरटी) गठन गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै तत्काल प्रभावबाट गठन गरिएको इआरटीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ ।

मन्त्रालयका अनुसार विदेशी नागरिकसम्बन्धी आवश्यक सूचना सङ्कलन, सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन इआरटीले सहजीकरण गर्नेछ ।

विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय सङ्घसंस्था, बेपत्ता व्यक्तिका परिवार तथा सर्वसाधारणलाई रसुवाको बाढीसँग सम्बन्धित प्रभावित वा बेपत्ता विदेशी नागरिकबारे कुनै सूचना भए इआरटीको हटलाइन वा इमेलमार्फत जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ । त्यसका लागि ९७७–९७४४४४१२२७ र ९७७–९७४४४४१२२८ मा आपत्कालीन हटलाइनरह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ । दोस्रो नम्बरमा बिहान ७ः०० बजेदेखि राति १०ः०० बजेसम्म सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । त्यस्तै, [email protected] मा इमेलमार्फत पनि जानकारी दिन सकिनेछ ।

मन्त्रालयले विपद्सम्बन्धी अपुष्ट सूचना तथा विवरण प्रसारण नगर्न र घटनाबारे जानकारीका लागि आधिकारिक माध्यममा निर्भर रहन सबैलाई आग्रह गरेको छ ।

भोटेकोसीमा गएको बाढीबाट रसुवा जिल्लामा ठुलो क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेका बेला परराष्ट्र मन्त्रालयले विदेशी नागरिकसँग सम्बन्धित सूचना तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन इआरटी गठन गरेको हो । मन्त्रालयले घटनाको अवस्थाबारे समयमै आधिकारिक जानकारी तथा अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?