Butwal Today

सम्पर्कविहीन २२ मध्ये पाँच ५ सम्पर्कमा

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

दाङ । रसुवास्थित भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका दाङका २२ मध्ये पाँच जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिकाका तिलक चौधरी र रामकुमार चौधरी, राजपुर गाउँपालिकाका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा रोल्पा घर भई तुलसीपुर बस्दै आएका ध्रुव बुढामगर सम्पर्कमा आएका छन् । उनीहरू सकुशल रहेको जनाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका कोपिला केसी, खम्बु बोहोरा, शिवशङ्कर जोशी र शोभाराम योगी सञ्चार सम्पर्कमा छैनन् । उनीहरूमध्ये कोपिला र खम्बु स्याफ्रुबेँसी स्वास्थ्य चौकीमा कार्यरत छन् भने शिवशङ्कर मैलुङ हाइड्रोपावर र शोभाराम फेवा हाइड्रोपावरको सुरुङ नुवाकोटमा कार्यरत छन् ।

प्रशासन कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका–९ की प्रमिला बुढाथोकी, वडा नं १३ डाँडागाउँका लालबहादुर रोका, गोपिलाल रोका र नारायण अधिकारी टिमुरे हाइड्रोपावरको सुरुङमा कार्यरत थिए ।

उपमहानगरपालिका–९ दोघरेका पूर्णबहादुर बस्नेत, राजेन्द्र महत र शोभाराम योगी, वडा नं १२ का सीमा चौधरी, बजारु चौधरी, वडा नं १८ का गोपाल परियार, विकास परियार र सुदन गिरी पनि हालसम्म सम्पर्कमा नरहेको जानकारी दिइएको छ । दङ्गीशरण गाउँपालिका–६ का प्रेम विक र घोराहीका सूर्यबहादुर केसी पनि सम्पर्कमा छैनन् ।

प्रशासनले उनीहरूका आफन्तसँग समन्वय गरी खोज तथा उद्धारका लागि आवश्यक विवरण र सूचना दिन अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?