© 2026
सर्लाही । भोटेकोसी नदीमा आएको बाढीका कारण सर्लाहीका नौ जना सम्पर्कविहीन भएका छन् ।
लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले, अनुज काफ्ले, लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा सम्पर्कविहीन भएका हुन् । उनीहरू केही दिनअघि गोसाईंकुण्ड तीर्थयात्रामा गएका थिए ।
सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् ।
उनीहरू साथीहरूसँग मिलेर रसुवाको गोसाईंकुण्ड यात्रामा गएका र बुधबार बिहानबाट सम्पर्कविहीन भएका मनिलका बुबा बालगोपाल कायस्थले जानकारी दिए ।
भोटेकोशीको बाढीले त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा काम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन भएका छन् ।
उनीहरू कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि सम्पर्कविहीन भएका हुन् । उनीहरूको खोजीका लागि परिवारले हारगुहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका आफन्तको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।