© 2026
अर्घाखाँची । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि अर्घाखाँचीबाट काम तथा घुम्ने सिलसिलामा रसुवा पुगेका नौ जना सम्पर्कविहीन भएका छन् ।
नौ जना बाढी आएपछि सम्बन्धित क्षेत्रबाट सम्पर्कविहीन भएको र उनीहरूको खोजी गरिदिन आफन्तले आग्रह गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवसबहादुर जिसीले जानकारी दिए ।
सम्पर्कविहीन हुनेमा रसुवाको टिमुरेमा स्काभेटर चालकका रूपमा काम गर्ने पाणिनी गाउँपालिका–३, धावाका २९ वर्षीय प्रशान्त रेश्मी, सडक निर्माणको काम गर्ने सन्धिखर्क नगरपालिका–८, पकलेका २२ वर्षीय सुमित मल्ल ठकुरी, रसुवा घुम्न गएका मालारानी गाउँपालिका–५, बाँगीका ४० वर्षीय नारायण पन्थी र भूमिकास्थान नगरपालिका–९, काप्लेकी ४६ वर्षीया मनिकला राना रहेका छन् ।
त्यस्तै, रसुवामा इन्जिनियरका रूपमा कार्यरत शितगंगा नगरपालिका–४ का सुबोध बेल्बासे, पाणिनी गाउँपालिका–७ घर भई रसुवामा शिक्षकका रूपमा कार्यरत नारायण थापा, रसुवा घुम्न गएकी भूमिकास्थान नगरपालिका–९, काप्लेकी तारा राना, भूमिकास्थान नगरपालिका–१० का लुकबहादुर क्षेत्री र रसुवामा इन्जिनियरका रूपमा कार्यरत भूमिकास्थान नगरपालिका–८, लात्तेबाजारका ३९ वर्षीय कृष्णबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन रहेको डीएसपी जिसीले बताए ।
यसैबीच, रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट काम तथा भ्रमणका सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका छन् । सुरुमा सम्पर्कबाहिर रहेका १०१ जनामध्ये चार जना परिवारको सम्पर्कमा आइसकेका छन् ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना छन् । त्यसपछि दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका नौ, बर्दियाका आठ, गुल्मीका छ, नवलपरासी पश्चिमका छ, पाल्पाका पाँच, प्युठानका पाँच र कपिलवस्तुका चार जना रहेका छन् ।
सम्पर्कविहीन भएकाहरू विभिन्न जलविद्युत् आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए । केही सरकारी सेवामा कार्यरत तथा घुम्नका लागि रसुवा पुगेका व्यक्तिहरूसमेत सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ ।
मन्त्रालयको विपद् व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिहरूको विवरण नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । थप विवरण प्राप्त हुने क्रम जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ । सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्न प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गर्ने कामसमेत भइरहेको छ ।