Butwal Today

बाढी पहिरोको विपत्तिमा कतारबाट जुट्यो एनआरएनए, राहत उद्धारका लागि ‘मूल समिति’ गठन

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

दोहा, कतार । चीनको तिब्बत क्षेत्रबाट भोटेकोसी नदी हुँदै आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले गहिरो दुःख व्यक्त गरेको छ ।

कतारमा सक्रिय विभिन्न सामाजिक सङ्घसंस्था तथा नेपाली समुदायले विपद्को यस घडीमा ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेका छन् ।

एनआरएनए एनसीसी कतारले बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन कतारमा स्थापित विभिन्न सामाजिक सङ्घसंस्था तथा समुदायका अगुवाहरूसँग बुधबार साँझ आकस्मिक बैठक आयोजना गरेको थियो । बैठकले प्रभावित क्षेत्रमा एकीकृत रूपमा राहत रकम सङ्कलन गर्ने प्रतिबद्धता जनाउँदै ‘राहत तथा उद्धार मूल समिति’ गठन गरेको छ ।

बैठकले सबैभन्दा बढी प्रभावित जिल्लाहरू धादिङ, रसुवा, नुवाकोट, गोरखा र चितवनलाई राहत वितरणको मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको छ । साथै, कतारमा कार्यरत नेपाली श्रमिकका परिवारमा कुनै क्षति भएको अवस्थामा उनीहरूलाई प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।

विपद्का कारण नेपाल फर्किनुपर्ने बाध्यतामा परेका नेपाली श्रमिकलाई एनसीसी कतारले हवाई टिकटको समेत व्यवस्था गर्ने अध्यक्ष कृष्ण पन्थीले जानकारी दिए ।

नवनिर्मित मूल समितिमा एनसीसी कतारका अध्यक्षसहित विभिन्न वैचारिक सङ्गठन, सातै प्रदेशका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, महिला समाज, आदिवासी जनजाति महासङ्घ, अन्तर्राष्ट्रिय मुस्लिम समाज तथा नेपाली फिटनेस टिम कतारका प्रतिनिधिहरू समावेश छन् ।

समितिको आर्थिक व्यवस्थापनको जिम्मेवारी एनसीसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेललाई दिइएको छ । बैठकमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले श्रमिकबाट सङ्कलन गरिने रकम पूर्ण रूपमा पारदर्शी हुनुपर्ने र वास्तविक पीडितसमक्ष नै पुग्ने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

कतारमा सङ्कलित सम्पूर्ण रकम एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) मार्फत नेपाल सरकारको ‘प्रधानमन्त्री राहत कोष’मा जम्मा गरिनेछ । यसअघि नै एनआरएनए आईसीसीले राहत कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले मातृभूमि सङ्कटमा परेका बेला प्रवासमा रहेका सम्पूर्ण नेपालीलाई एकजुट भएर राहत तथा उद्धार कार्यमा हातेमालो गर्न हार्दिक अपिल गरेका छन् ।

यसैबिच, एनसीसी कतारले हालै कतारमा आयोजना हुने तय भएका विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगित गर्नसमेत आग्रह गरेको छ ।

देश विषम परिस्थितिमा रहेको र राष्ट्रिय शोकको अवस्था भएकाले नाचगान, मनोरञ्जन तथा औपचारिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नहुने भन्दै संस्थाले कम्तीमा पाँच दिनका लागि आफ्ना तथा अन्य विभिन्न वैचारिक एवं सामाजिक संस्थाका निर्धारित कार्यक्रमहरू स्थगित गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?