© 2026
अर्घाखाँची । रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा पीडित नागरिकको राहत तथा पुनः स्थापनाका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिकाका कर्मचारीहरूले आफ्नो पाँच दिन बराबरको तलब सहयोग गर्ने भएका छन्।
पाणिनी गाउँपालिकाका कर्मचारीहरूको आकस्मिक बैठकले विपद्का बेला मानवीय सहयोगमा हातेमालो गर्ने निर्णय गर्दै सबै राष्ट्रसेवक कर्मचारीको मासिक तलबबाट पाँच दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले बताएका छन्।
गाउँपालिकाको प्रशासनिक कार्यालय, वडा र मातहतकाल झन्डै १ सय ४० कर्मचारीले ५ दिन बराबरको रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका लेखापाल मोहन खनालले बताएका छन् । सबैको ५ दिनको तलब झन्डै ९ लाखको हाराहारीमा हुनेछ ।
विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै बाढीका कारण घरबारविहीन तथा प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनः स्थापनाको काममा कुनै ढिलाइ नगर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।
गत साउन १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाका कर्मचारीहरूले आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
बैठकको निर्णयअनुसार गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको मासिक तलबबाट प्रतिकर्मचारी पाँच दिन बराबरको रकम कट्टा गरिनेछ। उक्त रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।
हिजो सन्धिखर्क नगरपालिकाका १ सय ६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने निर्णय गरेका थिए ।
भोटेकोसी र त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीबाट ठुलो भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनः स्थापनाका लागि आफ्ना कर्मचारीको एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय प्रमोद खनालले बताए ।
नगरपालिको प्रशासकीय कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थालगायत मातहतका कार्यालयमा कार्यरत १ सय ६८ जना कर्मचारीहरूबाट उक्त रकम सङ्कलन गरि सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका आइटी प्रमुख विशाल महतले बताए । १ सय ६८ कर्मचारीले एक हप्ताको तलब बराबरको रकम सहयोग गर्दा झन्डै १५ लाख रुपैयाँ सहयोग हुने भएको छ ।