© 2026
सल्यान ।
भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि कामको सिलसिलामा रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुगेका सल्यानका आठ स्थानीय तहका कम्तीमा ४५ जना नागरिक सम्पर्कविहीन भएका छन् । बाढीमा परेर दुई जना घाइते भएका छन् भने दुई जना परिवारको सम्पर्कमा आएका छन् ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुँदा मजदुरी तथा रोजगारीका लागि गएका नागरिकहरूसँग सम्पर्क हुन नसकेको हो । आफ्ना परिवारका सदस्यहरूको अवस्था अज्ञात भएपछि आफन्तहरू चिन्तित बनेका छन् । सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहहरूले प्रभावित जिल्लाका प्रशासनसँग समन्वय गरी खोज तथा उद्धारको पहल गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित हुनेमा बनगाड कुपिण्डे नगरपालिका–६ का नागरिक रहेका छन् ।
बनगाड कुपिण्डे–६ गैरीगाउँका ३६ वर्षीय गिरिलाल बुढाथोकी गम्भीर घाइते अवस्थामा साथीको फोनमार्फत सम्पर्कमा आएका छन् । तर उनका परिवारका पाँच सदस्य भने बेपत्ता छन् । उनकी ३५ वर्षीया श्रीमती सुनिता बुढाथोकी, १८ वर्षीया छोरी डिला बुढाथोकी, १६ वर्षीया छोरी निर्मला बुढाथोकी, १४ वर्षीय छोरा निराजन बुढाथोकी र १२ वर्षीय छोरा केशव बुढाथोकी सम्पर्कविहीन रहेका छन् ।
सोही वडाका २४ वर्षीय गगन बस्नेत, ३६ वर्षीय चित्रबहादुर पुन, उहाँकी २९ वर्षीया श्रीमती पविना राणा पुन तथा तीन वर्षीय छोरा जितेन्द्र पुन पनि बाढीपछि सम्पर्कविहीन छन् ।
यस्तै, बनगाड कुपिण्डे–६ गगनकटेराका २९ वर्षीय ढाकविर ऐरी घाइते अवस्थामा सम्पर्कमा आएका छन् । उनकी २८ वर्षीया श्रीमती बिना ऐरी र पाँच वर्षीया छोरी दिपिका ऐरी भने हालसम्म सम्पर्कमा आएका छैनन् ।
रसुवा क्षेत्रमा कामको सिलसिलामा पुगेका कुमाख गाउँपालिकाका सात जना नागरिक पनि सम्पर्कविहीन छन् । कुमाख–३ गुरुवासेका ६० वर्षीय दुर्गाबहादुर राणा, ४३ वर्षीय निमप्रकाश राणा, ४० वर्षीय गणेश राणा, २५ वर्षीय नवीन राणा, ५५ वर्षीय इयासे राणा, २७ वर्षीय नन्दराम राणा र २४ वर्षीय चित्रबहादुर राणा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
कुमाख–१ भितिबनका ५० वर्षीय खर्सल राणा र वडा नम्बर १ साधनमुढाका ४५ वर्षीय शेरबहादुर विक भने परिवारको सम्पर्कमा आइसकेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार उनीहरू सुरक्षित रहेको जानकारी परिवारलाई प्राप्त भएको छ ।
सिद्धकुमाख गाउँपालिका–४ मेलाचौरीका अन्दाजी ३१ वर्षीय हिरालाल घर्ती मगर पनि सम्पर्कविहीन रहेका छन् ।
यस्तै, शारदा नगरपालिका–१३ सल्लेरीका ३२ वर्षीया प्रमिला बुढाथोकी, २८ वर्षीया लक्ष्मी बुढाथोकी, १७ वर्षीय प्रविण बुढाथोकी, ३९ वर्षीया रिता बुढाथोकी र ४४ वर्षीय रिमबहादुर बुढाथोकीको अवस्था पनि अज्ञात रहेको छ ।
त्रिवेणी गाउँपालिका–५ का प्रेम महतरा, पोषण महतरा, रूपलाल विक, निमकुमार विक, लालसिंह विक, प्रकाश विक र २५ वर्षीय रोहित बुढाथोकी तथा वडा नम्बर ४ का २४ वर्षीय मोहन रेउले पनि सम्पर्कविहीन भएका छन् ।
बागचौर नगरपालिका–८ गैरागाउँकी ३८ वर्षीया प्रमिला बुढाथोकी र टिमुरेस्थित प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत बागचौर–१० पिपलनेटाका आयुष खड्का पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।
कपुरकोट गाउँपालिका–६ का ५५ वर्षीय हिमलाल सार्की, ३५ वर्षीय रामबहादुर सार्की, १९ वर्षीय तिलक सार्की, २७ वर्षीय किरण विक, ४२ वर्षीय मानबहादुर विक, ३३ वर्षीय लालबहादुर विक, २७ वर्षीय प्रकाश सार्की, ४३ वर्षीय लक्ष्मण सार्की, ३५ वर्षीय भीमबहादुर ठकुरी, ४४ वर्षीय खिमबहादुर दमाई र ६१ वर्षीय टेकबहादुर बस्नेत पनि सम्पर्कविहीन छन् ।
त्यसैगरी, कालीमाटी गाउँपालिका–३ का ३८ वर्षीय भूपेन्द्र रावत र ४५ वर्षीय भूपेन्द्रबहादुर खत्री पनि हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् ।
प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै बाढीले सडक तथा आवागमनमा समेत असर पुर्याएकाले सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा कठिनाइ भइरहेको बताइएको छ । सुरक्षा निकाय र स्थानीय प्रशासनले रसुवा तथा आसपासका प्रभावित जिल्लाका प्रशासनसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।