© 2026
रोल्पा । दुर्गम भौगोलिक अवस्था, विशेषज्ञ जनशक्तिको अभाव र आवश्यक उपकरण तथा पूर्वाधारको सीमितताबीच रोल्पा अस्पताल रेउघाले एक वर्षमा ३८ हजारभन्दा बढी नागरिकलाई बहिरङ्ग (ओपीडी) सेवा दिएको छ ।
अस्पतालको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा प्रतिवेदनअनुसार उक्त अवधिमा ३८ हजार १४ जनाले ओपीडी सेवा लिएका छन् । यस्तै, एक हजार ७२४ जना बिरामी अन्तरङ्ग सेवामा भर्ना भएका छन् भने पाँच हजार ४८९ जनाले आकस्मिक सेवा लिएका छन् ।
जिल्लाका नागरिकको उपचारको प्रमुख आधारका रूपमा रहेको अस्पतालले ओपीडी, अन्तरङ्ग तथा आकस्मिक सेवाका अतिरिक्त प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, ज्येष्ठ नागरिक, मानसिक स्वास्थ्यलगायतका सेवा सञ्चालन गर्दै आएको छ ।
तर बिरामीको उपचारका लागि अस्पतालप्रतिको निर्भरता उच्च भए पनि विशेषज्ञ चिकित्सक र अत्यावश्यक उपकरणको अभाव अस्पतालको मुख्य चुनौती बनेको छ । वरिष्ठ कन्सल्टेन्टतर्फ १० दरबन्दी रहेकामा एक जना मात्र कार्यरत छन् ।
मेडिकल अधिकृत तथा डेन्टल सर्जनतर्फका सातवटै दरबन्दी भने पूर्ति भएका छन् । नर्सिङतर्फ १२ दरबन्दीमध्ये १० जना कार्यरत छन् । चिकित्सक, नर्स, प्रयोगशाला, प्यारामेडिक्स, प्रशासन तथा सहयोगी कर्मचारी गरी अस्पतालमा ८९ जना कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।
विशेषज्ञ जनशक्ति अभावका कारण थप विशेषज्ञ सेवा तथा सघन उपचार सेवा विस्तार गर्न कठिनाइ भइरहेको अस्पतालले जनाएको छ । जटिल प्रकृतिका बिरामीलाई आवश्यक उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्था अझै कायम छ ।
जनशक्ति र उपकरणको अभावका बाबजुद अस्पतालको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा भने सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ८५ प्रतिशत रहेको एमएसएस स्कोर त्यसपछिको वर्ष पनि ८५ प्रतिशत नै रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा ८८ प्रतिशत पुगेको छ ।
क्लिनिकल सेवा व्यवस्थापनतर्फ ९२ प्रतिशत, सुशासनतर्फ ८३ प्रतिशत र अस्पताल सहयोगी सेवातर्फ ८१ प्रतिशत स्कोर प्राप्त भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, ट्रायाज प्रणाली, विपद् व्यवस्थापन योजना, डिफिब्रिलेटर, बिरामी निगरानी उपकरण तथा आकस्मिक उपचारका आवश्यक प्रोटोकलको व्यवस्था गरिएको छ । नियमित र आकस्मिक शल्यक्रियाका लागि छुट्टाछुट्टै कक्ष तथा पोस्ट अपरेटिभ वार्डसमेत सञ्चालनमा छन् ।
अस्पतालमा उपचारका लागि आउने बिरामीको समग्र संख्या भने पछिल्लो वर्ष घटेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ४० हजार ७७ र २०८१/८२ मा ४० हजार ३८२ जनाले ओपीडी सेवा लिएकोमा गत आर्थिक वर्षमा घटेर ३८ हजार १४ मा झरेको छ । अन्तरङ्ग बिरामीको संख्या पनि २०८०/८१ मा एक हजार ७६१, २०८१/८२ मा एक हजार ८२५ रहेकामा गत आर्थिक वर्षमा एक हजार ७२४ मा झरेको छ ।
बेड अकुपेन्सी दरमा अझ ठूलो गिरावट आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४४.९९ प्रतिशत रहेको बेड अकुपेन्सी २०८१/८२ मा ४१.८४ प्रतिशत हुँदै गत आर्थिक वर्षमा ३०.१५ प्रतिशतमा झरेको छ ।
बिरामी अस्पतालमा बस्ने औसत अवधि २.९१ दिन रहेको छ । शल्यक्रियाको संख्या पनि घट्दो क्रममा छ । २०८०÷८१ मा ४३५ शल्यक्रिया भएकामा २०८१/८२ मा ३१८ र गत आर्थिक वर्षमा २८० वटा शल्यक्रिया भएका छन् । यद्यपि शल्यक्रियासम्बन्धी मृत्यु दर भने लगातार तीन वर्ष शून्य रहेको अस्पतालले जनाएको छ ।
अन्तरङ्ग सेवामा भर्ना हुने बिरामीमध्ये सबैभन्दा बढी सीओपीडीका बिरामी रहेका छन् । गत आर्थिक वर्षमा सीओपीडीका १४१ बिरामी भर्ना भएका थिए । त्यसपछि अज्ञात कारणको ज्वरोका १०५, स्क्रब टाइफसका १००, निमोनियाका ७८ र संक्रामक ग्यास्ट्रोइन्टेस्टाइनल रोगका ६२ बिरामी रहेका छन् ।
आकस्मिक सेवामा भने पेट दुख्ने बिरामी सबैभन्दा धेरै ७८२ जना रहेका छन् । हाडजोर्नी तथा दुर्घटनाजन्य चोटपटकका ६५१, तीव्र ग्यास्ट्राइटिसका ४४७, बालबालिकामा झाडापखालाका ३७४, सीओपीडी बढेका २७४ र जनावरको टोकाइका २१९ जनाले आकस्मिक सेवा लिएका छन् ।
गत आर्थिक वर्षमा अस्पतालमा ३५३ संस्थागत प्रसूति भएको छ । दक्ष प्रसूति स्वास्थ्यकर्मीबाट २९६ प्रसूति गराइएकोमा ४६ वटा सिजेरियन गरिएको छ । अस्पतालमा मातृ मृत्यु शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
नवजात मृत्यु एक तथा प्रसव आसपासको मृत्यु छ वटा भएको छ । पाँच वटा मृत शिशु जन्मिएका थिए भने जन्मपछिको प्रारम्भिक अवधिमा एक शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा सेवा विस्तार भए पनि अत्यावश्यक उपकरणको अभाव कायमै छ । एनेस्थेसियाका लागि आवश्यक सामान्य एनेस्थेसिया मेसिन, प्रयोगशालामा माइक्रोबायोलोजी कल्चर सेवा तथा सीटी स्क्यान र एमआरआई सेवा सञ्चालनमा आउन सकेका छैनन् ।
त्यस्तै स्वास्थ्यजन्य फोहोरको पूर्ण प्रशोधन प्रणाली, विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली र सशुल्क विशेषज्ञ सेवा पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् ।
विद्युत् आपूर्ति, ट्रान्सफर्मर, उपकरण मर्मत, खानेपानी तथा कर्मचारी आवासको समस्या पनि अस्पतालले चुनौतीका रूपमा उल्लेख गरेको छ । ठूला उपकरण बिग्रँदा दुर्गम भौगोलिक अवस्थाका कारण प्राविधिक ल्याउन तथा उपकरण मर्मतस्थलसम्म लैजानसमेत कठिनाइ हुने गरेको छ ।
अस्पतालले आगामी आर्थिक वर्षमा विशेषज्ञ सेवा विस्तार, शल्यक्रिया तथा सघन उपचार कक्षको पूर्वाधार, फोहोर व्यवस्थापन, विशेषज्ञ र लेखा जनशक्ति, प्रयोगशाला तथा अत्याधुनिक उपकरणलाई प्राथमिकतामा राखेको छ ।
अस्पतालका अनुसार विशेषज्ञ चिकित्सक, विशेषज्ञ स्वास्थ्य शिविर तथा दूरचिकित्साका लागि ६० लाख, शल्यक्रिया, सघन उपचार र उच्च निर्भरता उपचार कक्षका लागि ५० लाख, फोहोर व्यवस्थापनका लागि १५ लाख तथा विशेषज्ञ र लेखा जनशक्तिका लागि ७५ लाख रूपैयाँ आवश्यक छ ।
त्यस्तै प्रयोगशालामा कल्चर तथा संवेदनशीलता परीक्षणका लागि ३० लाख, शल्यक्रिया कक्षमा सामान्य एनेस्थेसिया मेसिन र सी–आर्मका लागि ६० लाख, ट्रान्सफर्मरका लागि ३० लाख, भवन तथा उपकरण मर्मतका लागि ३० लाख र अन्य चिकित्सा उपकरणका लागि समेत बजेट आवश्यक रहेको अस्पतालले जनाएको छ । समग्रमा करिब चार करोड ५५ लाख रूपैयाँ बराबरको थप स्रोत आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
वार्षिक समीक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले अस्पतालको सेवा विस्तारसँगै व्यवस्थापन, पारदर्शिता र संस्थागत समन्वयमा सुधार आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले अस्पतालका गतिविधिमा जनप्रतिनिधि र सरोकारवालाबीच नियमित समन्वय आवश्यक रहेको बताइन् ।
रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले अस्पतालको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रूपैयाँभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले अस्पतालको आर्थिक प्रशासन, लेखा व्यवस्थापन, कर्मचारी छनोट तथा सेवा प्रवाहमा संस्थागत जवाफदेहिता बलियो बनाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष नवीन लोचनले विशेषज्ञ चिकित्सकको अभाव समाधानका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकायले प्रभावकारी पहल गर्नुपर्ने बताए ।
अस्पतालका निमित्त अस्पताल प्रमुख डा. सुरज पोखरेलले उपलब्ध स्रोतसाधनबाट सेवा सुधारको प्रयास भइरहेको बताए । विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण र आवश्यक पूर्वाधार थप गर्न सके जिल्लाबाहिर उपचारका लागि जानुपर्ने बाध्यता कम गर्न सकिने उनको भनाइ छ ।