Butwal Today

भोटेकोसी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७२ पुग्यो

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । रसुवास्थित भोटेकोसीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।

प्रहरी प्रवक्ता डिआइजी अबि नारायण काफ्लेका अनुसार अहिलेसम्म ७२ जनाको शव भेटिएको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटीय क्षेत्रमा शव फेला परेका हुन् । भेटिएका शवको पहिचान खुलाउने प्रयास भइरहेको डिआइजी काफ्लेले जानकारी दिए ।

बाढीमा परेका २८ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन छन् । बुधबार बिहान करिब ९ बजेतिर चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोसीमा मिसिएपछि ठुलो क्षति भएको हो ।

बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन् । नेपाली सेनाका अनुसार अहिलेसम्म रसुवाबाट ८८ जनाको उद्धार गरिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढी प्रभावितको उद्धारका लागि ६ वटा हेलिकप्टर परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?