© 2026
काठमाडौँ । रसुवामा आएको बाढीका कारण ८ वाणिज्य बैङ्कका २६ कर्मचारी सम्पर्कविहीन भएका छन् ।
तिब्बतबाट आएको बाढीका कारण भोटेकोसी र त्रिशूली नदी आसपासका विभिन्न बैङ्कका ८ शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् ।
नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैङ्कका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।
बाढीका कारण बैङ्कका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताए । ‘टिमुरे, स्याफ्रुबेँसीलगायत स्थानका शाखामा क्षति पुगेको छ । सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका हुन्,’ उनले भने ।
सोही क्षेत्रमा सञ्चालित विकास बैंकहरूमा भने कुनै क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।
तिब्बतबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आसपासका बजारमा रहेका बैङ्कका शाखा क्षतिग्रस्त भएका हुन् । बाढीबाट ९ वटा बैङ्क शाखामा क्षति पुगेको भए पनि सम्पर्कविहीन कर्मचारी भने ८ शाखाका रहेका छन् ।
बाढीले प्रभु बैङ्क, ग्लोबल आइएमई बैङ्क, सानिमा बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, लक्ष्मी सनराइज बैङ्क, एनएमबी बैङ्क र माछापुच्छ्रे बैङ्कका शाखा कार्यालयमा क्षति पुर्याएको शर्माले बताए ।
बैङ्कहरूले क्षतिको विवरणसमेत क्रमिक रूपमा सङ्कलन गरिरहेका छन् । ‘पहिलो प्राथमिकता कर्मचारीको सुरक्षा हो । त्यसैले अहिले सबै कुरा बिर्सेर उनीहरूको अवस्थाबारे जानकारी लिन लागिरहेका छौँ,’ शर्माले भने ।
कर्मचारीहरूको अवस्था यकिन भएपछि मात्र भौतिक क्षतिको विवरण सङ्कलन गरिने उनले बताए । बाढीबाट क्षति पुगेको क्षेत्रमा तत्काल पुग्न सकिने अवस्था नरहेको र फोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुगेकाले सम्पर्क गर्न कठिनाइ भइरहेको शर्माले जानकारी दिए ।