© 2026
काठमाडौँ । विपद्ग्रस्त नेपालका बाढी प्रभावितको उद्धार तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैङ्कले तत्काल सहयोगका लागि समन्वय अघि बढाएका छन् ।
बाढीको समाचार सार्वजनिक भए लगत्तै बिहान १०ः३५ बजे अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले समन्वय गरेका थिए । उनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोग स्वरूप रु २५ अर्बसम्म सहयोग गर्न सकिने जानकारी गराएका थिए ।
दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची सरकारसँग मागेको छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भारतबाट प्राप्त हुने राहत सामग्री आजै काठमाडौँ ल्याउने तयारी भइरहेको बताएका छन् ।
यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ । सहयोग रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् ।
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अन्तर सरकारी समन्वयमार्फत सहयोगको मोडालिटीका विषयमा छलफल भइरहेको बताएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेपछि स्वदेशी तथा विदेशी सहयोग जुटाउने बाटो खुलेको हो ।