Butwal Today

रसुवा बाढी प्रभावित क्षेत्रमा गएका सल्यानका नागरिक सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रशासन

१० भाद्र २०८३, बुधबार
अ+
अ-

सल्यान।  बाढी प्रभावित रसुवा क्षेत्रमा विभिन्न कामको सिलसिलामा पुगेका सल्यानका केही नागरिक सम्पर्कविहीन भएको बताइएको छ ।

परिवारका सदस्यहरूले आफ्ना आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् भने उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी गराइदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

सम्पर्कविहीन भएको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले घटनाप्रति चासो देखाउँदै रसुवा पुगेका जिल्लावासीको विवरण सङ्कलन थालेको जनाएको छ ।

सम्बन्धित प्रहरी युनिटमार्फत तथा स्थानीय तहसँग समन्वय गरी कुन वडा र स्थानका कति व्यक्ति रसुवा पुगेका छन्, उनीहरू के कामका लागि त्यहाँ गएका हुन् र हाल उनीहरूको अवस्था कस्तो छ भन्ने विवरण सङ्कलन भइरहेको प्रशासनले जनाएको छ ।

सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले स्थानीय तहसँग समेत समन्वय गरेर रसुवा पुगेका व्यक्तिहरूको यथार्थ विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार परिवार तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाका आधारमा व्यक्तिको पहिचान र अवस्थाबारे जानकारी जुटाउने प्रयास भइरहेको छ ।

सल्यान प्रहरीले पनि रसुवा गएका व्यक्तिहरूको विवरण सङ्कलन गरिरहेको जनाएको छ । प्रहरीले प्राप्त गरेको प्रारम्भिक जानकारी अनुसार सल्यानबाट कामको सिलसिलामा रसुवा पुगेका कतिपय व्यक्ति परिवारको सम्पर्कमा रहेका छन् भने कतिपयसँग सम्पर्क हुन नसकेको विवरण आइरहेको छ ।

सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार हालसम्म प्राप्त विवरणमा बनगाड कुपिण्डे नगरपालिकाका १३ जना, शारदा नगरपालिकाका चार जना, बागचौर नगरपालिकाका एक जना र सिद्धकुमाख गाउँपालिकाका एक जना व्यक्ति कामको सिलसिलामा रसुवा गएको जानकारी प्राप्त भएको छ ।

तर सामाजिक सञ्जाल तथा अन्य सरोकारवाला पक्षबाट सार्वजनिक भइरहेका विवरणमा भने सल्यानबाट रसुवा पुगेका २९ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको दाबी गरिएको छ । प्रहरी र प्रशासनले भने ती विवरणको आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रको अवस्था तथा सञ्चार सम्पर्कमा आएको अवरोधका कारण धेरै व्यक्तिसँग तत्काल सम्पर्क हुन नसकेको हुन सक्ने अनुमान गरिएको छ । रसुवा क्षेत्रमा रहेका सल्यानका नागरिकहरूको यकिन विवरण, सम्पर्क अवस्था र सम्भावित खोजी तथा उद्धारसम्बन्धी थप जानकारी सङ्कलनपछि सार्वजनिक गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?