© 2026
बर्दघाट ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने भोटेकोसी नदीमा अकस्मात् बाढी आएपछि त्रिशूली हुँदै नारायणी नदीको बहावसमेत बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले बुधवार जारी गरेको सूचनामा त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण नदीको बहाव बढेको र थप विपद्को जोखिम हुनसक्ने भन्दै नवलपरासीस्थित नारायणी नदी तथा आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
पछिल्लो समय नारायणीमा पानीको बहाव बढेसँगै चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा समेत जोखिम बढेको जनाइएको छ ।
प्रशासनले नारायणी नदीमा माछा मार्ने, नदीजन्य पदार्थ सङ्कलन गर्ने तथा अन्य कामका लागि नदीमा जाने व्यक्ति तथा मजदुरलाई नदीमा नजान आग्रह गरेको छ। यसअघि नै नदीमा गइसकेकालाई तत्काल सुरक्षित स्थानमा जानसमेत अनुरोध गरिएको छ । त्यस्तै नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना, उद्योग-व्यवसाय र सरकारी तथा गैरसरकारी कार्यालयलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी, सतर्कता र सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।