Butwal Today

गुल्मीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

१० भाद्र २०८३, बुधबार
अ+
अ-

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–७ भुजेलखर्कका २५ वर्षीय पवन विकको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार अपरान्ह रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा पार्किङ गरी राखेको लु १ ख ८०७ नम्बरको ट्रक अगाडि बढाउने क्रममा विकलाई ठक्कर दिएको थियो । ट्रक गुल्मीदरबार गाउँपालिका–७ निवासी ५० वर्षीय टेकबहादुर खत्रीले चलाएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारका लागि सुरुमा गुल्मी अस्पताल तम्घास लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शवगृहमा राखिएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?