Butwal Today

एनसेल ग्राहकलाई मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श

१० भाद्र २०८३, बुधबार
अ+
अ-
काठमाडौं ।  एनसेलका ग्राहकले अब नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन पाउने भएका छन् ।
एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच भएको सहकार्यअनुसार निश्चित प्याक तथा रेन्टल सेवा प्रयोग गर्ने ग्राहकलाई यस्तो सुविधा उपलब्ध हुने भएको हो ।
सम्झौताअनुसार २९९ रुपियाँ वा सोभन्दा माथिको प्याक अथवा रेन्टल सेवा लिएका एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा चिकित्सक परामर्श निःशुल्क पाउनेछन् । यस्तै, ९९ देखि २९९ रुपियाँसम्मका प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।
मङ्गलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौतापछि दत्ताले मोबाइल कनेक्टिभिटीसँगै ग्राहकलाई स्वास्थ्य सेवामा समेत अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको बताए । उनका अनुसार ग्राहकलाई दैनिक जीवनमा उपयोगी थप सेवा उपलब्ध गराउने एनसेलको प्रयासअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सहकार्य गरिएको हो ।
“एनसेलका प्याकसँग नेपाल मेडिसिटीको स्वास्थ्य सेवा जोडेर ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा दिएका छौँ,” उनले भने, “यसले ग्राहकलाई कनेक्टिभिटीसँगै स्वस्थ जीवनका लागि पनि सहयोग पु¥याउनेछ ।”
नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी क्षेत्रका संस्था र स्वास्थ्य संस्थाबीचको सहकार्य प्रभावकारी हुने बताए । उनले यस्तो साझेदारीले गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए ।
सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ । एपमा ग्राहकले प्राप्त गर्ने सुविधाको विवरण देखिने व्यवस्था गरिएको एनसेलले जनाएको छ । योग्य नदेखिएका ग्राहकले तोकिएको प्याक वा रेन्टल सेवा लिएपछि सुविधाका लागि योग्य हुनेछन् ।
एनसेलले कनेक्टिभिटी सेवासँगै ग्राहकको दैनिक जीवनमा प्रत्यक्ष उपयोगी हुने सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्था र सेवा प्रदायकसँग सहकार्य गर्दै आएको जनाएको छ । पछिल्लो सहकार्यलाई पनि ग्राहकलाई थप मूल्य र सुविधा उपलब्ध गराउने निरन्तर प्रयासकै रूपमा लिइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?