Butwal Today

अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दो

१० भाद्र २०८३, बुधबार
अ+
अ-

गुल्मी । गुल्मी अस्पताल तम्घासबाट सेवा लिने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै अस्पतालबाट ८१ हजार ६३४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।

मंगलबार सदरमुकाम तम्घासमा आयोजित अस्पतालको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार पछिल्ला तीन आर्थिक वर्षयता अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या निरन्तर वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा ७३ हजार ८७९ जनाले बहिरङ्ग सेवा लिएकोमा २०८१/८२ मा यो सङ्ख्या बढेर ७८ हजार २५४ पुगेको थियो ।

अस्पतालका प्रमुख डा. विभव बस्यालका अनुसार बहिरङ्ग सेवासँगै शल्यक्रिया, आकस्मिक तथा अन्तरङ्ग सेवा लिने बिरामीको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८/८३ मा दुई हजार ९०८ जनाले शल्यक्रिया सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार ९२६ र २०८१/८२ मा दुई हजार ६३९ जनाले शल्यक्रिया सेवा लिएका थिए ।

आकस्मिक सेवातर्फ आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ५९१ जनाले सेवा लिएका छन् । यसअघि आर्थिक वर्ष २०८०/८१ मा १० हजार ८०१ र २०८१/८२ मा १२ हजार २७८ जना बिरामीले आकस्मिक सेवा लिएका थिए । त्यसै गरी अन्तरङ्ग सेवामा आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ५२७ जनाले सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार ८६७ र २०८१/८२ मा दुई हजार ४०८ जनाले अन्तरङ्ग सेवा लिएका थिए ।

अस्पतालका प्रमुख डा.बस्यालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा अस्पतालको सेवा विस्तारसँगै सेवाग्राहीको चाप पनि बढ्दै गएको उल्लेख गरिएको छ । अस्पतालको स्वीकृत स्थायी दरबन्दी ५९ जनाको रहेकामा हाल एक सय ३२ जना कर्मचारी कार्यरत छन् ।

वार्षिक समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले अस्पतालमा बढ्दो सेवाग्राहीको चापलाई ध्यान दिँदै आवश्यक जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताए । जिल्लाको स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा रहेको गुल्मी अस्पतालको क्षमता विस्तारका लागि सबै पक्षबिच समन्वय आवश्यक रहेको उनले बताए ।

५० शैयाको स्वीकृति भए पनि स्थान अभावका कारण अस्पतालमा हाल ४५ शैया मात्रै सञ्चालनमा रहेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार र पर्याप्त जनशक्तिको अभावका बिच सेवाग्राहीको चाप बढ्दै जाँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा चुनौती थपिएको बताए ।

अस्पतालमा कुकुरको टोकाइ र स्क्रब टाइफसका बिरामीको सङ्ख्या पनि बढ्दो रहेको जनस्वास्थ्य अधिकृत बोम अर्यालले जानकारी दिए । समीक्षा कार्यक्रममा अस्पतालको सेवा, पूर्वाधार, जनशक्ति र आगामी कार्य योजनाका विषयमा विभिन्न सुझाव प्रस्तुत गरिएको थियो ।

जनप्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरूले न्यून जनशक्ति, साधन स्रोतको कमी, भौतिक पूर्वाधार अभाव र बढ्दो बिरामीको चापका बिच पनि अस्पतालले प्रदान गर्दै आएको सेवाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्नुपर्ने विषयमा सुझाव तथा पृष्ठपोषण दिएका थिए ।

सोही अवसरमा अस्पतालमा उत्कृष्ट कार्य गर्ने विभिन्न शाखाका कर्मचारीलाई सम्मान गरिएको थियो । अस्पतालमा सेवा लिन आउने बिरामीहरू मध्य पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?