Butwal Today

वरिष्ठ पत्रकार चापागाईंलाई हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार

१८ माघ २०७९, बुधबार
अ+
अ-

बुटवल, १८ माघ ।

वरिष्ठ पत्रकार तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन्।

२५औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपालले सो पुरस्कारबाट रुपन्देहीका वरिष्ठ पत्रकार चापागाईं पुरस्कृत हुन लागेको जानकारी गराएको हो। आगामी २२ माघमा चौतारीले देशभर स्थापना दिवस मनाउँदै छ।

त्यस्तै, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार बाग्लुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार दैलेखका पत्रकार याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार बाराका पत्रकार लक्ष्मी साह, सावित्रीदेवी–पद्यमलक्ष्मी बस्नेत पत्रकारिता पुरस्कार सुनसरीका पत्रकार लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार डडेल्धुराकी पत्रकार ममता भट्टलाई प्रदान गरिने महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरस्कार प्रदान गर्नेछन्।

चौतारीले स्थापना दिवसका अवसरमा प्रगतिशील विचारधारा र संगठनमा आबद्ध अग्रज स्वर्गीय पत्रकारहरूको स्मृतिमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ।