Butwal Today

विपन्न बालबालिकाहरूको सहारा बन्यो गाउँपालिका

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

गोरखा । आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ ।

आफ्नो पालिकाभित्रका विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवाससहित पढ्न पाउने व्यवस्था गरेको हो ।

पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरेको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताए ।
“पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रूपमा विपन्न बालबालिकालाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष थापाले भने ।

हाल गाउँपालिकाको हिमालय माविस्थित छात्रावासमा १३ जना बालबालिका आश्रित छन् । उनीहरूको कक्षा १० सम्मको शिक्षा र पालनपोषण सबैको जिम्मेवारी गाउँपालिकाले बेहोर्ने अध्यक्ष थापाको भनाइ छ ।

पालिकाभित्रका विपन्न बालबालिकाका लागि आइतबारबाट सुरक्षित आवासीय शिक्षा सञ्चालनमा ल्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।

उनका अनुसार विपन्न बालबालिकालाई लक्षित आवासीय शिक्षा कार्यक्रमका लागि पालिकाले आर्थिक वर्ष २०८२/०८३ मा रु १० लाख विनियोजन गरेको थियो । सोही रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राका लागि छात्रावास, शौचालय र मेसको व्यवस्थापन गरेको उनले जानकारी दिए ।

“छात्रावास व्यवस्थापनको काम गत असारमै सकिएको थियो तर बर्खे बिदा र विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षाका कारण सञ्चालनमा ल्याउन ढिला भयो”, उनले भने । गाउँपालिकाले २० जना बालबालिका क्षमताको छात्रावास सञ्चालनमा ल्याएको छ । त्यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने शिक्षा अधिकृत राजेन्द्र खनालले बताए ।

पारिवारिक अवस्थाका कारण अध्ययन गर्न नसकेका र संरक्षकको आवश्यकता भएका बालबालिकालाई पालिकाले आवेदन माग गरी छनोट गरेको थियो । छनोट भएका बालबालिकाहरू अधिकांशको आमा, बुबा नभएका वा भएकाहरूले दोस्रो विवाह गरेका र पारिवारिक अपहेलनामा परेका रहेको पालिकाले जनाएको छ ।

सहिदलखन गाउँपालिकाले सीमान्तकृत चेपाङ र बराम समुदायका बालबालिकाका लागि सिंजाली माविमा छुट्टै आवासीय सुविधासहित पठनपाठन गर्ने तयारी गरेको छ । विद्यालयको भवन निर्माण कार्य सम्पन्न भए लगत्तै आगामी शैक्षिक सत्रबाट उक्त सेवा सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?