© 2026
कपिलवस्तु ।
बाराको जीतपुरसिमरा–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन तथा न्यायको माग गर्दै कपिलवस्तुमा युवा, समाजसेवी तथा महिला अधिकारकर्मीहरूले र्यालीसहित ज्ञापनपत्र बुझाएका छन् ।
२०८३ साउन ३१ गते घरबाट हराएकी गरिमाको भदौ २ गते शव फेला परेको थियो । घटनाप्रति ध्यानाकर्षण जनाउँदै गरिमालाई न्याय दिलाउन तौलिहवाको भिक्षुचोकदेखि चौक बजार हुँदै प्रशासनचोकसम्म शान्तिपूर्ण र्याली आयोजना गरिएको हो ।
युवा व्यवसायी तथा सामाजिक अभियन्ता रुपक गुप्ताको अगुवाइमा भएको र्यालीपछि युवा अभियन्ता तथा महिला अगुवाहरूको टोलीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा घटनाको निष्पक्ष तथा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न, पीडित परिवारलाई न्यायको अनुभूति गराउन तथा यस्ता घटना दोहोरिन नदिन प्रहरी प्रशासनको सक्रियता बढाउन माग गरिएको छ ।
युवा अभियन्ता गुप्तासहित साथी संस्थाकी संयोजक बिमला घिमिरे, परामर्शदाता सुस्मा गुरागाईं, तौलेश्वरनाथ सामाजिक संस्थाका अध्यक्ष शिवा गुप्ता, महिला अगुवा चण्डिका घिमिरे, युवा अभियन्ता त्रिपुरारी चौहान, सुदिप भुसाललगायतले प्रमुख जिल्ला अधिकारी गौतमलाई सामूहिक रूपमा ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले मागलाई सम्बन्धित निकायमा सम्प्रेषण गर्ने प्रतिबद्धता जनाए ।
अभियन्ता तथा अधिकारकर्मीहरूले गरिमालाई न्याय दिलाउनुका साथै समाजमा आगामी दिनमा यस्ता घटना हुन नदिन र आपराधिक मानसिकतालाई नियन्त्रण गर्न प्रशासनको सक्रियता बढाउन आवश्यक रहेको बताए ।
युवा अभियन्ता रुपक गुप्ताले गरिमाको न्यायका लागि शान्तिपूर्ण र्यालीपछि प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको बताए । उनले आगामी दिनमा कुनै पनि महिला तथा बालबालिकामाथि यस्ता घटना हुन नदिन प्रहरी, प्रशासन र नागरिक सबै सचेत हुनुपर्ने बताए ।
साथी संस्था कपिलवस्तुकी संयोजक बिमला घिमिरेले गरिमाको घटना एउटी बालिकासँग मात्र सम्बन्धित विषय नभई राष्ट्रियस्तरमै महिला तथा बालबालिकाको सुरक्षा संवेदनशीलताको विषय भएको बताइन् । यस्ता घटना न्यूनीकरण गर्न सबैको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।
महिला अधिकारकर्मी चण्डिका घिमिरेले आगामी दिनमा यस्ता घटना कहींकतै हुन नदिन सबैमा संवेदनशीलता आवश्यक रहेकोमा जोड दिइन् ।