Butwal Today

सिद्धार्थनगर सिटी हस्पिटलमा गर्भवती महिलाका लागि निःशुल्क स्वास्थ्य परीक्षण

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

सिद्धार्थनगर । 

गर्भवती महिला तथा गर्भमा रहेका शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि., भैरहवाले गर्भवती महिलाका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सेवा सञ्चालन गरेको छ ।

“सुरक्षित मातृत्वको सुरुवात, स्वस्थ आमा, स्वस्थ शिशु–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानअन्तर्गत गर्भवती महिलाले निःशुल्क ओपिडी जाँच, प्रसूति तथा स्त्रीरोग विशेषज्ञको परामर्श र आवश्यक एएनसी रक्त परीक्षण सेवा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ ।

अभियानअन्तर्गत वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सुरक्षा बेगमबाट दैनिक बिहान १० बजेदेखि साँझ ४ बजेसम्म गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिइने व्यवस्था गरिएको छ । अस्पतालमा नियमित रूपमा ७५० रुपैयाँ लाग्ने ओपिडी परामर्श शुल्क अभियान अवधिभर निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, गर्भावस्थामा आवश्यक पर्ने सिबिसि, आरबिएस, थाइरोइड, भिडिआरएल, ब्लड ग्रुप तथा सेरोलोजी लगायतका एएनसी रक्त परीक्षण पनि निःशुल्क गरिने भएको छ । यी परीक्षणको नियमित शुल्क करिब ३ हजार ६५० रुपैयाँ पर्ने भए पनि अभियानअन्तर्गत गर्भवती महिलालाई निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

गर्भावस्थाका क्रममा नियमित स्वास्थ्य परीक्षणले आमाको स्वास्थ्य अवस्था तथा गर्भमा रहेको शिशुको अवस्थाबारे समयमै जानकारी लिन सहयोग पु¥याउने चिकित्सकहरू बताउँछन् । रक्त अल्पता, रक्त समूह, मधुमेह तथा गर्भावस्थासँग सम्बन्धित सम्भावित जोखिमको प्रारम्भिक पहिचानका लागि एएनसी परीक्षण महत्त्वपूर्ण मानिन्छ ।

अस्पतालले आर्थिक अवस्थाका कारण आवश्यक स्वास्थ्य परीक्षणबाट गर्भवती महिला वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ । विशेष गरी आर्थिक रूपमा कमजोर तथा सामान्य परिवारका गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षणमा प्रोत्साहित गर्ने अस्पतालको लक्ष्य रहेको छ ।

अस्पतालले गर्भावस्थाको सुरुदेखि नै नियमित स्वास्थ्य परीक्षण गराउन, चिकित्सकको सल्लाहअनुसार आवश्यक परीक्षण तथा फलोअपलाई निरन्तरता दिन र कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न गर्भवती महिलालाई आग्रह गरेको छ ।

साथै, सुरक्षित मातृत्वका लागि गर्भवती महिलाको खानपान, पर्याप्त आराम, नियमित स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्शमा परिवारका सदस्यले समेत सहयोग गर्नुपर्ने अस्पतालको भनाइ छ । गर्भवती महिलाले आफूलाई सामान्य महसुस गरे पनि चिकित्सकले सिफारिस गरेको एएनसी परीक्षण र फलोअपलाई निरन्तरता दिन आवश्यक रहेको अस्पतालले जनाएको छ ।

सिद्धार्थनगर सिटी हस्पिटलले यस अभियानलाई आफ्नो सामाजिक उत्तरदायित्वसँग जोड्दै भैरहवा तथा रुपन्देही आसपासका गर्भवती महिलालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । निःशुल्क परीक्षण तथा विशेषज्ञ परामर्शबाट गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा लाग्ने आर्थिक भार कम हुनुका साथै सम्भावित स्वास्थ्य जटिलताको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने अस्पतालको अपेक्षा छ ।

अस्पतालले गर्भवती महिलालाई अभियानअन्तर्गत उपलब्ध निःशुल्क सेवा तथा परीक्षणबारे जानकारी लिन र सेवा प्राप्त गर्न अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ । “स्वस्थ आमा, स्वस्थ शिशु नै स्वस्थ समाजको आधार हो” भन्ने अवधारणाका साथ सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?