Butwal Today

नेपालगन्ज रेल्वेको उद्घाटन मिति पाँच पटक सारियो

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

बाँके ।

नेपाल–भारत सीमा रुपैडिहामा भारत सरकारले तयार गरेको नेपालगन्ज रोड रेल्वेको उद्घाटन मिति पाँच पटक सारिएको छ । उद्घाटन मिति तोकिए पनि पूर्ण रूपमा संरचना तथा प्राविधिक तयारी नहुँदा पटक–पटक मिति सारिएको हो ।

नेपाल–भारत सीमाको मुख्य नाका मानिने रुपैडिहास्थित नेपालगन्ज रोडसम्म भारत सरकारले ब्राडगेज रेल सेवा विस्तार गर्ने निर्णय गरेको छ । यससँगै भारतको वाराणसी, गोरखपुरलगायत ठूला व्यावसायिक सहरसँग पश्चिम नेपाल प्रत्यक्ष रूपमा जोडिने भएकाले सीमावर्ती क्षेत्रमा व्यापार, पर्यटन तथा आवागमनका नयाँ सम्भावना देखिएको छ ।

भारतीय रेल मन्त्रालयको निर्णयअनुसार १५१३२ वाराणसी सिटी–नेपालगन्ज रोड एक्सप्रेस र १५१३१ नेपालगन्ज रोड–वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालन गर्ने तयारी गरिएको छ । रेल सेवा विस्तारले सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने स्थानीय व्यवसायीहरूको विश्वास छ ।

भारत सरकारले वाराणसी सिटी–गोरखपुर एक्सप्रेस रेल सेवा रुपैडिहाको नेपालगन्ज रोड स्टेसनसम्म विस्तार गर्ने निर्णय गरेसँगै बाँके, बर्दियालगायत पश्चिम नेपालका आम नागरिक तथा व्यवसायी उत्साहित बनेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष टंक धामीले बताए ।

उनका अनुसार नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले रेल सेवा सञ्चालन भएपछि भारतीय बजारसँगको पहुँच अझ मजबुत हुनेछ । व्यापारिक आवतजावत बढ्नुका साथै सीमावर्ती क्षेत्रमा होटल, यातायात, गोदाम, खुद्रा व्यापार तथा सेवा क्षेत्रका गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले यो रेल सेवाबाट भारतका प्रमुख बन्दरगाहबाट सीमापारसम्म मालसामान ल्याउन सहज हुने विश्वास व्यक्त गरे ।

उत्तर प्रदेश उद्योग व्यापार मण्डल रुपैडिहाका अध्यक्ष शैलेस जयसवालले ब्राडगेज रेल सेवा विस्तारको निर्णयले सीमावर्ती क्षेत्रका दुवै देशका जनता तथा उद्योगी–व्यवसायीलाई लाभ पुग्ने बताए ।

पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पर्यटन क्षेत्रले समेत रेल सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए । उनका अनुसार भारतका धार्मिक पर्यटक वाराणसीबाट सहज रूपमा नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यसम्म पुग्न सक्नेछन् ।

त्यस्तै, नेपालबाट धार्मिक तथा स्वास्थ्य उपचारका लागि भारत जाने यात्रुलाई समेत रेल पहुँच सहज हुने अपेक्षा गरिएको छ । नेपालगन्ज रोडसम्म रेल सेवा विस्तार भएपछि बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, कर्णाली र सुदूरपश्चिमका यात्रुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

नेपालगन्जका नागरिक अगुवा होन्तराज काफ्लेले शिक्षा तथा स्वास्थ्य सेवाका लागि भारत जाने विद्यार्थी र बिरामीलाई समेत यो रेल सेवा निकै उपयोगी हुने बताए ।

भारतीय रेल विभागले रेल सेवा सञ्चालनसम्बन्धी समयतालिकासमेत सार्वजनिक गरिसकेको थियो । सार्वजनिक तालिकाअनुसार उक्त रेल वाराणसी सिटीबाट राति १०ः३५ बजे प्रस्थान गरी बिहान ४ बजे गोरखपुर पुग्नेछ । १० मिनेटको विश्रामपछि बिहान ४ः१० बजे गोरखपुरबाट छुटेर बिहान ११ः२० बजे नेपालगन्ज रोड स्टेसन पुग्ने तालिका बनाइएको थियो ।

फर्किने क्रममा रेल नेपालगन्ज रोडबाट दिउँसो ४ः१५ बजे छुट्ने, राति १२ः१० बजे गोरखपुर पुग्ने र १० मिनेटपछि पुनः प्रस्थान गरी बिहान ८ः३० बजे वाराणसी सिटी पुग्ने तालिका बनाइएको थियो ।

वर्षौंदेखि नेपालगन्जसम्म ब्राडगेज रेल सेवा विस्तारको माग जनस्तरबाट उठ्दै आएको थियो । भारत सरकारको स्वीकृतिसँगै उक्त मागले मूर्तरूप लिएको हो । यसलाई पश्चिम नेपालको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?