© 2026
वैदिक सत्य सनातन हिन्दु परम्परामा मात्र नभएर नेपाली परम्परामा नै श्रावणीकर्मको विशेष महत्त्व रहेको छ । चान्द्रमास अनुसार श्रावणशुक्ल पूर्णिमाका दिन मनाइने हुनाले यसलाई श्रावणी भनिएको हो ।
जनैपूर्णिमा, डोरो बान्ने पुन्नु, रक्षा बन्धन, ऋषितर्पणी, श्रावणी इत्यादि विभिन्न नामले जानिने यो पर्व उपाकर्मका नाममा पनि जानिने गरिन्छ । किनकि यस दिनबाट केही समय रोकिएको वेदाध्ययनको पुनः आरम्भ गर्ने पनि चलन छ ।
त्यसैले पनि उपाकर्मको परिभाषा शास्त्रमा यसरी लेखिएको छ –ऋषीणां तर्पणं कृत्वा वेदाध्ययनस्य पुनरारम्भः उपाकर्म इति कथ्यते ।अर्थात् ऋषीहरूलाई तर्पण गरीवेदको अध्ययनलाई पुनः आरम्भ गर्ने कर्म नै उपाकर्म हो ।
तर यसदिनको विशेषता भनेको नेपाली समाजमा मठ मन्दिर या घरमैँ पनि रक्षा बन्धन र जनै पूजन गर्नेअनि पुरानो जनै परिवर्तन गरी नयाँ लगाई गुरुजन र पूजितजनबाट रक्षा बन्धन अर्थात् डोरो धारण गर्ने । जनै धारण गर्ने परम्परा तीन वर्णकाहरूमा मात्र भए पनि रक्षा बन्धन गर्ने चलन चाहिँ सबै वर्ण र समुदायका साथसाथै बौद्ध तथा किराँतहरूमा पनि पाइन्छ ।
पौराणिक जनश्रुतिअनुसार धेरै पुरानो समयमाबलिनामका एक प्रतापी राजा थिए। उनी असुरकुलमा जन्मिएका भए पनि अत्यन्तधर्मात्मा, सत्यवादी र दानी पनिथिए। उनका बुबाको नाम विरोचन थियो भने हजूरबुबाको नाम प्रह्लाद थियो ।यही कारणले गर्दा पनि बलिको हृदयमा पनि भगवान्प्रति गहिरो श्रद्धा थियो ।
बलि यति पराक्रमी थिए कि उनले आफ्ना शौर्य र तपस्याको बलमा स्वर्ग, मत्र्य र पाताल, यीतीनै लोकमाथि आफ्नो प्रभुत्वस्थापित गर्दा देवताहरू पनि स्वर्ग छोडेर भाग्न परेको अवस्था थियो ।घरबारविहिन भएका देवताहरूलाई देखेर भगवान् विष्णुलाई चिन्ता भएकाले बलिद्वारा यज्ञ गरिरहेको स्थानमा उहाँ पुग्नुहुन्छ र दान माग्न आउने जोसुकैलाई पनि नफर्काउने बलिसँग आफ्नो नपाइको तीन पाउ भूमिको याचना गर्नुहुन्छ ।
वामनरूप विष्णुका दुई पाउले संसार ढाक्दा तेस्रो पाउ राख्ने स्थान हुँदैन । यो खेलो विष्णुको हो भन्ने बुझिसकेका बलिले आफ्नै शिरमा तेस्रो पाइला राख्नका लागि वामन अवतारलाई आग्रह गर्दछन् । भक्त बलिको हत्या नगरिकनै उनलाई आफ्ना पैतालाले पाताललोकतिरै पठाइदिन्छन् । तर राजा बलिको सत्य, दानशीलता र भगवद्भक्ति अझ महान् हुन्छ ।
यिनै बलिको सम्झनामा भन्दा पनि बलिको जस्तो सत्ययुक्त वचनबद्धता जसले उनको रक्षा गर्यो भन्ने अर्थमा उनको पनि यस पर्वमा यसरी स्मरण गर्ने गरिएको छ –
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल।।
अर्थात् हे रक्षासूत्र! महाशक्तिशाली राजा बलिलाई बाँध्ने जुन रक्षाशक्ति थियो, त्यही शक्तिले आज म तिमीलाई बाँध्दछु। तिमी मेरो रक्षा गर्ने सङ्कल्पमा अडिग रह, कहिल्यै कमजोर वा विचलित नहोऊ। यसको शाब्दिक अर्थ त यही नै हुन्छ । तर यहाँ जुन शक्तिले बलिको हत्या नगरी रक्षा गरियो, त्यही शक्ति नै यो रक्षा बन्धन हो ।
यसले तिमी पनि बलिजस्तै वचनबद्धता र सत्यतामा रहन सक्यौ भने त्यसरी नै रक्षा हुनेछ भन्ने अर्थ पनि आउँछ । प्रसङ्ग जे जे भए पनि यस दिन लगाइने डोरो रक्षासूत्रका रूपमा प्रयोग गरिँदै आइएको छ । त्यस्तै यज्ञोपवित जनैको पनि शास्त्रीय महत्त्व अति नै धेरै रहेको छ । यी यस खालका धागोले बनाइएका पवित्र वस्तुहरू केबल धागो मात्र होइनन् ।
जसरी मूर्ति सामान्य ढुङ्गो लागे पनि त्यहाँ ईश्वरको ठूलो महिमा छ त्यसैगरी यो धागोको पनि धेरै नै महत्त्व रहेको छ । यो केबल धागो मात्र होइन । यसमा वैदिक विधिबाट वेदका मन्त्रहरूद्वारा विशेष शक्ति प्रवेश गराइएको हुन्छ, अनि मात्र यसले हाम्रो रक्षा गर्ने भएको हो ।
सनातन परम्पराको विशिष्टता नै वर्णव्यवस्था हो । केही भरम् गुरुहरूले वर्णलाई जातिपातीमा लगेर तुलना गरी यो रहेसम्म छुवाछुत रहन्छ भन्ने खालका अन्टपन्ट कुराहरू गरे पनि तिनमा कुनै सत्यता नै छैन । ती विना अध्ययन विना साधना डकारिएका बोलिको कुनै अर्थ नै छैन । सनातन वैदिक धर्म एउटा शरीर हो भने यसभित्र ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी धर्मका अङ्गहरू हुन् । यी चार अङ्गहरूले जातीको प्रतिनिधित्व गर्दैनन् । यी अङ्गहरूलाई शिर, हात, पेट र खुट्टाहरूसँग लगेर तुलना गरिएको छ ।
ब्राह्मणलाई लगेर शिरसँग तुलना गरेर ठूलो बनाइएको होइन । शूद्रलाई लगेर खुट्टासँग तुलना गरिएको पनि सानो बनाउन गरिएको होइन । सबै अङ्ग बराबर नै हुन् । यी अङ्गहरूको आ–आफ्नै काम हुन्छ । बोल्न पर्यो भने या खान पर्यो भने खुट्टाको प्रयोग हुँदैन भने हिँड्न पर्यो भने टाउकोले हिँड्न पनि सकिने होइन । त्यस्तै न त पेटले नै हिँडिने खुट्टाले खाइने पनि होइन ।
यहाँ वैदिक सत्य सनातन हिन्दु धर्मभित्रको यो वर्णव्यवस्था ब्राह्मणका लागि खाने जोहो गराइएको पनि होइन । जसरी शरीरका प्रत्येक अङ्गले आफ्नो कर्तव्य कर्म गरे पछि मात्र शरीरको रक्षा हुन्छ, त्यस्तै ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रले पनि आ–आफ्नो कर्तव्यअनुसारका कर्म गरेपछि मात्र वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा हुने हो ।
सर्वे भवन्तु सुखिनः भन्ने सिद्धान्त बोकेको सनातन वैदिक धर्मको रक्षा भइसकेपछि मात्र बल्ल संसारमा शान्ति हुने हो । त्यसैले नै यस प्राकृतिक धर्मको रक्षाका लागि विश्वका गन्नेमान्ने वैज्ञानिकहरू पनि अहोरात्र खटिरहेका छन् ।
प्रसङ्ग अनुसार नै हाम्रा सनातन धर्ममा विभिन्न वर्णहरूका विभिन्न मुख्य पर्वहरू रहेका छन् । शूद्र वर्णहरूका लागि मुख्य पर्व फाल्गुनी हो भने वैश्यका लागि लक्ष्मीपूजा हो । त्यस्तै क्षत्रियहरूका लागि मुख्य पर्व दशैँ हो भने ब्राह्मणहरूको मुख्य पर्व श्रावणी हो । सबै वर्णहरूका लागि विभिन्न नियमले शास्त्रले बाँधेजस्तै ब्राह्मणहरूका लागि झनै कठोर नियम राखिएको छ ।
शास्त्रले ब्राह्मणका कोखमा जन्मदैमा ब्राह्मण भइने होइन भन्दछ । ब्राह्मण भनेको त एउटा सन्न्यास मार्ग जस्तै कठोर निवृत्ति मार्ग रहेछ । टाउकाले केही गड्बड् गर्यो भने, मुखले केही गलत खायो भने सम्पूर्ण शरीरकै मृत्यु भए जस्तै मुखरूपी ब्राह्मणले झुक्केर पनि गलत गर्यो भने सनातन धर्मकै हानी हुन्छ । यस श्रावणी पर्व पनि विशेष नियममा बाँधिएको छ ।
अघिल्लो दिन शुद्धताको लागि मुण्डनादि कर्म गरी एकछाक खाएर बस्नुपर्दछ । अनि अर्को दिन नजिकैको तलाउ या नदी, सम्भव नभएमा धारोमा गई विशेष कर्म गर्नुपर्ने हुन्छ । नजानेर गल्तीबश भएका कर्महरूको माफीका लागि भगवान्सँग उच्च स्वरले सबैले सुन्ने गरी आग्रह गर्ने गरिन्छ । अनि भष्म(खरानी), गोमय (गोबर), मृद् (माटो), वारि (पानी), गोमूत्र (गहुँत), गोमयं पय (गाईको दूध), गाईको दही, गाईको घ्यू, दर्भ (कुश) र मन्त्रसमेत गरी दश किसिमका स्नान वैदिक मन्त्रहरूको प्रयोगले गरिन्छन् । सँगै कुश, दुबो र अपामार्गले मार्जन पनि गर्ने चलन रहेको छ ।
यसपछि भष्म, चन्दन आदि धारण गरेर प्राणायाम, सूर्यार्घ,सूर्योपस्थान, ऋषितर्पण गरिसकेपछि मात्र मन्दिर या आफ्नो घरमा गई जनै र डोरोको पूजन गर्ने गरिन्छ । पूजनका सिलसिलामा अरून्धती सहित कश्यप,अत्रि,भारद्वाज,विश्वामित्र,गौतम,जमदग्नि,वसिष्ठसमेतका सप्त ऋषिको पूजन गर्ने गरिन्छ भने जनैलाई गङ्गाजल, कुशोदक, पञ्चामृत, श्रीखण्ड र अन्य सुगन्धित पदार्थले पवित्र गराई वैदिक मन्त्रद्वारा अभिषेक र अभिमन्त्रित गरी यसमा विभिन्न देवताको आवाहन, पूजन गरी शक्ति सम्पन्न गराई जनै र डोरो मन्त्रने गरिन्छ ।
नेपाली वैदिक परम्परामा यसदिन रुद्राभिषेक पनि गरी जनै डोरोको अभिषेक पनि गरिन्छ । यी कर्म गर्न कति समय लाग्छ भन्ने कुरा आफै विचार गर्न परो । यी सबै कर्म नगरी लटरपटर तरिकाले लगाइने जनै या डोरो धागो बराबर नै हुने हुन् । तर, यस किसिमको वैदिक कर्मलाई पनि पेशोको रूपमा केही कर्म नै नगरी विहानैदेखि कतै बेच्न राख्ने त कतै ब्राह्मणहरूले नै विहानैदेखि लिएर हिँड्ने गरेको देखिन्छ । अझ विशेष गरेर कर्मकाण्डको पेशो समातेका ब्राह्मणहरू पनि यस महान् पर्वलाई आफैँले नै श्रद्धा नगरेजस्तै गरी विना मुण्डन जनै र डोरो लिएर हिँड्ने गर्दछन् ।
यति मात्र कहाँ हो र धर्मगुरुहरूका नाममा आफुलाई चिनाउनेहरूले पनि त्यो व्यावसायिक अर्धमुण्डित केश मुण्डन नै नगरि बस्नुहुन्छ अनि आशीर्वाद भन्दै हिँड्नुहुन्छ । तर यी सबै कार्य धर्मशास्त्रका विरुद्ध हुन जान्छन् । धर्मको फल प्राप्ति गर्न गराउनका लागि त्यति सजिलो छैन । आचार विचारमा नरही, न तर्न सकिन्छ न तार्न ।
त्यसैले यी हाम्रा महत्त्वपूर्ण कार्यहरूलाई नै लटरपटर तरिकाले गर्ने नगरौँ । किनकि धर्म एव हतो हन्ति अर्थात् धर्मको नाश गर्नेलाई धर्मले नै नाश गर्दछ । यो फल प्राप्ति कलि युगमा आजको भोलि भएको देखिएको छ । त्यसैले सचेत रहौँ धर्मो रक्षति रक्षितः को अर्थबोध गरौँ ।