Butwal Today

चरेस र अफिमसहित ५ महिला पक्राउ

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले चरेस र अफिमजस्तो देखिने पदार्थसहित पाँच महिलालाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई रोकी जाँच गर्दा १५ किलोभन्दा बढी लागुऔषधजन्य पदार्थ बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको छ । उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साकी चुमा लामिछाने छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

उनले बरामद पदार्थको परीक्षण गर्नुका साथै उनीहरूलाई लागु औषध उपलब्ध गराउने स्रोत, भारततर्फ लैजान संलग्न व्यक्ति तथा सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको बताए । प्रहरीले सीमावर्ती क्षेत्रमा लागु औषध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा जाँचलाई थप कडाइ गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?