© 2026
बाँके । नेपालगन्जमा विभिन्न स्पा सेन्टरमा उमेर नपुगेका बालिकालाई काममा लगाएको आरोपमा प्रहरीले तीन जना स्पा सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जका विभिन्न स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाइएको सूचनाका आधारमा अनुगमन तथा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अनुगमनका क्रममा विभिन्न स्पा सेन्टरमा बालिकाहरूलाई कानुन विपरीत काममा लगाइएको पाइएपछि उनीहरूको उद्धार गरिएको हो । सोही क्रममा स्पा सञ्चालकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१०, आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, सोही वडामा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारु र नेपालगन्ज–२, न्यूरोडस्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन् ।
प्रहरीका अनुसार विभिन्न उमेर समूहका बालिकालाई कानुन विपरीत स्पामा काममा लगाएको पाइएपछि उनीहरूको उद्धार गरिएको हो । पक्राउ परेका तीनै जनामाथि बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालत बाँकेबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ । स्पा तथा मसाज सेन्टरका नाममा बालबालिकालाई गैर कानुनी रूपमा श्रममा लगाउने, शोषण गर्ने वा अन्य जोखिमपूर्ण गतिविधिमा संलग्न गराउने कार्यविरुद्ध निगरानी तथा अनुसन्धानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
बालबालिकालाई काममा लगाउँदा प्रचलित कानुनको पालना नगरेको पाइएमा सम्बन्धित सञ्चालक तथा व्यवस्थापकविरुद्ध कानुनी कारबाही हुन सक्ने भएकाले स्पा व्यवसाय सञ्चालन गर्नेहरूले बालबालिकाको उमेर तथा रोजगारीसम्बन्धी कानुनी प्रावधानको पालना गर्नुपर्ने देखिन्छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेकाले उनीहरूमाथि लागेको आरोप पुष्टि हुन बाँकी छ । प्रहरीले अनुसन्धानपछि घटनाको थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।