Butwal Today

स्कुल बसले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३ जना घाइते

८ भाद्र २०८३, सोमबार
अ+
अ-

उदयपुर ।  उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी एक महिला रहेकी छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।

आज बिहान मदन भण्डारी राजमार्गको बेल्टार–चतरा सडकखण्डअन्तर्गत सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को।प्र।५–१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो ।

प्रहरी नायब उपरीक्षक बमका अनुसार अटोमा चालकसहित पाँच जना सवार रहेकामा सबै घाइते भएका थिए । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का अन्दाजी २८ वर्षीय इन्द्र थापा, मोरङको विराटनगर महानगरपालिका–१२ का अजित गुरुङ र बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर घाइते भएका छन् ।

घाइते तीनै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बमले बताए ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले बस र चालक बेलका नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?