© 2026
दाङ । जीवन रहँदा सम्म बुवा आमालाई सधैँ साथ सहयोग दिने छोरीहरूलाई मृत्युपछि बुवा आमाको किरियाकर्म गर्न नदिने सामाजिक कुसंस्कारका विरुद्ध लागेका छोरीहरू सम्मानित भएका छन् ।
सामाजिक रूपान्तरणका लागि महिला मञ्च दाङले आफ्नी आमाको निधन पश्चात् किरिया गरी समाजमा उदाहरणीय कार्यको रूपमा सन्तानको दायित्व पुरा गरेकी घोराही उपमहानगरपालिका १५ सम्झौता टोल रतनपुर निवासी स्मृति न्यौपानेलाई सम्मान पत्र प्रदान गरिएको छ ।
त्यसै गरी घोराही उपमहानगरपालिका १७ का आकृति वली र स्मृति वलीले आफ्नो बाबुको निधनमा किरिया गरि समाजमा छोरीले पनि केही गर्न सक्छन् भन्ने उदाहरण देखाएका थिए । उनीहरू दुई जनालाई पनि सम्मान गरिएको छ । नौ वर्ष अगाडि छोरीका आमाहरूको संस्था निर्माण गरि आमाहरुश्र एकताबद्ध हुने काम गरेको संस्थापक अध्यक्ष गोमा महरा बताइन् ।
महिलाहरू हरेक क्षेत्रमा अगाडि आउनुपर्ने भन्दै उनले छोरीहरूले समाजमा उदाहरणीय काम गर्न सक्ने हिम्मत बोकेको बताइन् । समाजमा अगाडि सरेर काम गरेका छोरीलाई हौसला दिएर अगाडि बढाउनुपर्ने बताइन् ।
मञ्च दाङकी अध्यक्ष सुशीला आचार्यले दाङबाट सुरुवात गरिएको कार्यक्रम देशभर फैलाउने बताइन् । उनले छोरा र छोरीको बिचमा विभेद गर्न नहुने भन्दै छोराले गर्ने सबै काम छोरीले गर्न सकेका धेरै उदाहरण रहेको बताइन् ।
हरेक पेसा व्यवसायमा छोरीहरू अगाडि रहेको उनको धारणा थियो । गर्भदेखि नै छोरीमाथि हुने विभेदको अन्य गर्नका लागि उदाहरणीय काम गरेका छोरीलाई सम्मान गर्न परिपाटीको विकास गरेको बताइन् । छोरीहरूलाई परिवार, समाज र राष्ट्र निर्माणका महत्त्वपूर्ण आधारका रूपमा स्थापित गर्न उनीहरूको योगदानको कदर आवश्यक रहेको उनको भनाइ थियो ।
स्वस्थ नारी, सशक्त समाज विषयक यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी खुला संवाद कार्यक्रम पनि गरिएको थियो । नेपाल परिवार नियोजन सङ्घ दाङकी वरिष्ठ काउन्सिलर सरिता तामाङले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा आमाहरु बिशेष संवेदनशील हुनुपर्ने बताइन ।
उनले किशोरी तथा महिलाले आफ्नो स्वास्थ्य, शरीर र प्रजनन अधिकारका विषयमा खुलेर कुराकानी गर्नुपर्ने र छोराछोरीलाई असल संस्कार दिनुपर्ने बताइन् । आफ्नो शरीरको ख्याल आफै राख्दै स्वच्छ जीवन बिताउनुपर्ने बताइन् ।
महिलाको स्वास्थ्य, अधिकार, आत्मनिर्भरता, सामाजिक समानता तथा छोरीप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्नु समय सान्दर्भिक रहेको संस्थाका सल्लाहकार आसमानी चौधरीले बताइन् । उनले भनिन्, महिला मञ्चले आगामी दिनमा पनि महिलाको स्वास्थ्य, अधिकार र सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने सल्लाह दिइन् ।