© 2026
लमही । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन जना मन्त्री थपिने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनसँगै केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपाका तीन जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् ।
सिफारिसअनुसार नेकपाबाट दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री आचार्यले बताए । मन्त्रिपरिषद् पुनर्गठनसँगै मुख्यमन्त्री आचार्यले अन्य मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरेका छन् ।
यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
युवा, खेलकुद तथा पर्यटन मन्त्रालयको जिम्मेवारीमा रहेका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी यथावत् राखिएको छ ।
वर्तमान सरकारमा नेकपा (एमाले) बाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने जनाएको छ ।