© 2026
काठमाडौँ । धार्मिक तथा पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ ।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । सञ्चार सेवा उपलब्ध भएपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय लाभान्वित भएका छन् ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।
दूरसञ्चार सेवा पु¥याउन निरन्तर खटिने नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा कार्यमा समन्वय र सहकार्य गर्ने बडीमालिकाका जनप्रतिनिधिलाई सञ्चारमन्त्री तिमिल्सिनाले धन्यवाद दिए ।
सरकारले यस वर्षलाई दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधार र डिजिटल रूपान्तरणको वर्षका रूपमा अघि बढाउन लागेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भौगोलिक रूपमा विकट भएकै कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने बताए ।
देशका दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको उनले जानकारी दिए ।
सेवा सञ्चालनपछि सञ्चारमन्त्री तिमिल्सिनाले टावर स्थापनाका लागि बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरे । नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा खटिएका कर्मचारीसँग उनले सेवा सञ्चालनको अवस्था र त्यहाँका कठिनाइबारे जानकारी लिए ।
भिडियो संवादका क्रममा सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इन्जिनियर सुदर्शन आचार्य, सिभिल इन्जिनियर दीपकराज भट्टलगायतका प्राविधिकले टावर स्थापना तथा सेवा सञ्चालनका क्रममा भएका कामबारे जानकारी गराए ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पु¥याउने विषय टेलिकमको प्राथमिकतामा रहेको बताइन् । टेलिकमको सेवा पहुँच विस्तारसँगै गुणस्तर सुधारका काम भइरहेको उनले जानकारी दिइन् ।
व्यावसायिक लाभलाई मात्र आधार बनाएर सेवा विस्तार गर्नुभन्दा सञ्चार सेवाको पहुँच कमजोर रहेका दुर्गम क्षेत्रमा सेवा पु¥याउने जिम्मेवारीलाई प्राथमिकता दिइएको प्रबन्ध निर्देशक पहाडीले बताइन् । देशका विकट भूभागमा समेत नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुसार नयाँ पूर्वाधार निर्माण र सेवा विस्तार भइरहेको उनले जानकारी दिइन् ।
बडीमालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाले गत साउन ८ गते नेपाल टेलिकमलाई तत्काल सेवा विस्तार गर्न निर्देशन दिएका थिए । बडीमालिकामा सञ्चार सेवा नपुगेको विषयमा गम्भीर चासो देखाउँदै उनले आवश्यक प्रक्रिया तत्काल अघि बढाउन तथा प्राविधिक र भौगोलिक चुनौतीको सामना गर्दै सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए ।
सञ्चारमन्त्रीको निर्देशनपछि नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा टावर निर्माण तथा फोर–जी सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको थियो । सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टावर निर्माणका लागि आवश्यक उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पु¥याइएको थियो ।
यसैबीच, सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित टावर जडानस्थल तथा सडक सञ्जालको अवस्थाबारे छलफल गरेका थिए । सडकमार्फत उपकरण तथा निर्माण सामग्री पु¥याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट सामग्री ढुवानी गर्ने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
बडीमालिका मन्दिर क्षेत्र समुद्र सतहबाट करिब चार हजार २०० मिटरको उचाइमा अवस्थित छ । नेपाल टेलिकमका अनुसार टावर भने करिब चार हजार २३० मिटरको उचाइमा रहेको लौरी विनायक भन्ने स्थानमा स्थापना गरिएको छ । विकट स्थानमा प्राविधिक टोलीले विभिन्न चुनौती पार गर्दै टावर स्थापना गरेको हो ।
बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम भए पनि धार्मिक, पर्यटकीय तथा पदयात्राका दृष्टिले यो क्षेत्र महत्वपूर्ण रहेको नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकीले जानकारी दिए ।
बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रसम्म पुग्ने तीर्थयात्री तथा पर्यटकका लागि मोबाइल तथा इन्टरनेट उपयोग गर्न अब सहज हुने भएको छ ।
सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेको छ । त्यसअनुसार देशका दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार विस्तार गर्ने, फोर–जी सेवाको पहुँच बढाउने, सेवा गुणस्तर सुधार गर्ने तथा नयाँ प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ ।
यसै योजनाअनुसार नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजा क्षेत्रमा पनि नेपाल टेलिकमको फोर–जी सेवा यही भदौ ५ गतेदेखि सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा फोर–जी सेवा विस्तार भएसँगै सिँजा क्षेत्रको सञ्चार पहुँच सहज भएको छ ।
यसैगरी, सगरमाथा आधार शिविरमा पनि फोर–जी सेवा विस्तारका लागि अध्ययन जारी छ । यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनैमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । ताप्लेजुङको ओलाङचुङगोलामा पनि फोर–जी सेवा सञ्चालनमा छ ।
सरकारले सञ्चार सेवाको पहुँच कमजोर रहेका देशका अन्य दुर्गम क्षेत्र पहिचान गरी क्रमशः सेवा विस्तार गर्ने योजना अघि सारेको छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले दूरसञ्चार पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो ।
नेपाल टेलिकमका अनुसार हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । नयाँ टावर निर्माण तथा विद्यमान पूर्वाधारको क्षमता विस्तारबाट ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ ।