© 2026
रोल्पा ।
रोल्पा, प्युठान र बागलुङ जिल्लाको सीमामा पर्ने ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको कोठीभीरलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजित पाँचदिने कोठीभीर पैदल यात्रा तथा पर्यटन कार्यक्रमअन्तर्गत पर्यटन समिट सम्पन्न भएको छ ।
कन्सेप्ट लुम्बिनीको आयोजनामा सम्पन्न समिटमा कोठीभीरको पर्यटन सम्भावना, पूर्वाधार विकास, स्थानीय संस्कृति संरक्षण तथा पर्यटनमार्फत स्थानीय समुदायको आयआर्जन बढाउने विषयमा छलफल गरिएको हो । ‘भ्रमण र प्रकृति, हाम्रो संस्कृति’ भन्ने मूल नारासहित भदौ ५ देखि ९ गतेसम्म सञ्चालन हुने पाँचदिने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कन्सेप्ट लुम्बिनीका संयोजक पृथ्वी पुन ‘बाल्कुराम’, नौबहिनी गाउँपालिकाका समाजसेवी नरेन्द्र घर्तीमगर, नौबहिनी गाउँपालिकाका निवर्तमान कार्यपालिका सदस्य लालप्रसाद सेरचन, नौबहिनी गाउँपालिका–१ स्यालीबाङका निवर्तमान वडा सदस्य पूर्ण बुढामगरलगायतको सहभागिता थियो ।
कार्यक्रममा नौबहिनी स्पोर्ट्स क्लबका अध्यक्ष तथा पर्यटन अभियानकर्मी शिव घर्तीमगर, समाजसेवी तथा पर्यटनकर्मी नरेन्द्र घर्तीमगर र समाजसेवी तथा युवा नेता तेसन घर्तीमगरले कोठीभीरको पर्यटन सम्भावनाबारे धारणा राखेका थिए । वक्ताहरूले कोठीभीर तीन जिल्लाको साझा प्राकृतिक तथा सांस्कृतिक सम्पदा भएकाले यसको विकासका लागि स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए ।
पर्यटनकर्मी शिव घर्तीमगरले कोठीभीरलाई एकदिने भ्रमणस्थलमा सीमित नराखी व्यवस्थित पदयात्रा गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, धार्मिक महत्व र स्थानीय संस्कृतिलाई एकीकृत रूपमा प्रस्तुत गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो ।
समाजसेवी तथा पर्यटनकर्मी नरेन्द्र घर्तीमगरले स्थानीय समुदायको सहभागिताबिना कोठीभीरको पर्यटन विकास सम्भव नहुने बताए । स्थानीय कृषि उपज, घरेलु सामग्री, स्थानीय परिकार तथा हस्तकलालाई पर्यटनसँग जोड्न सके गाउँमै आर्थिक गतिविधि बढ्ने उनले बताए । युवा नेता तेसन घर्तीमगरले पर्यटन विकासले युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न सक्ने बताए ।
समिटका अध्यक्ष पृथ्वी पुन ‘बाल्कुराम’ले कोठीभीरलाई तीन जिल्लाको साझा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । पाँचदिने पदयात्राका लागि पदमार्ग, सहभागी व्यवस्थापन, बसोबास, खानपान तथा आवश्यक समन्वयको तयारी गरिएको उनले जानकारी दिए ।
पदयात्राका क्रममा स्थानीय कला, संस्कृति, भेषभूषा, खानपान तथा परम्परासँग पर्यटकलाई प्रत्यक्ष परिचित गराउने कार्यक्रम तय गरिएको छ । स्थानीय उत्पादन, कृषि उपज, हस्तकला तथा स्थानीय परिकारको प्रदर्शन र बिक्रीमार्फत समुदायको आयआर्जन बढाउने लक्ष्यसमेत राखिएको छ । स्थानीय युवालाई पदमार्ग संरक्षण, सरसफाइ, पर्यटक व्यवस्थापन तथा सूचना प्रवाहमा परिचालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
सरोकारवालाले कोठीभीरलाई दीर्घकालीन पर्यटकीय गन्तव्य बनाउन पदमार्गको स्तरोन्नति, संकेत चिह्न, विश्रामस्थल, खानेपानी, आपत्कालीन व्यवस्थापन तथा सूचना केन्द्र आवश्यक रहेको बताएका छन् । पर्यटन विकाससँगै स्थानीय संस्कृति, प्रकृति तथा जैविक विविधताको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
रोल्पाको भित्रीगाम गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण बुढामगर, भित्रीगाम गाउँपालिकाका कार्यपालिका सदस्य मनबहादुर बि।क। तथा भित्रीगाम गाउँपालिका–३ का वडाध्यक्ष उदबीर घर्तीमगरले पनि कोठीभीरको पर्यटन विकासका लागि पूर्वाधार निर्माण, स्थानीय सहभागिता र निरन्तर प्रचार–प्रसार आवश्यक रहेको बता ए।
आयोजकका अनुसार पाँचदिने पदयात्राले कोठीभीरको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन आधार तयार गर्नेछ । तीन जिल्लाको साझा पहिचान बोकेको कोठीभीरलाई योजनाबद्ध रूपमा विकास गर्न सके प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, स्थानीय संस्कृति र हिमाली दृश्यका कारण महत्वपूर्ण पदयात्रा तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।