© 2026
बुटवल । लुम्बिनी प्रदेशमा गत साउन महिनामा भएका सवारी दुर्घटनामा परी ३५ जनाको ज्यान गएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सार्वजनिक गरेको साउन महिनाको प्रगति विवरण अनुसार प्रदेशका विभिन्न १२ जिल्लामा भएका ४१८ वटा दुर्घटनामा परि ३५ जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा २८ पुरुष र ७ महिलाको मृत्यु भएको छ भने ७१० जना घाइते भएका छन् । कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी दुर्घटना र जनधनको क्षति रूपन्देही र कपिलवस्तु जिल्लामा भएको देखिन्छ । रूपन्देहीमा १४९ वटा दुर्घटना हुँदा २ पुरुष र २४९ जना घाइते भएका छन् । यस्तै कपिलवस्तुमा ७१ वटा दुर्घटनामा ९ पुरुष र २ महिला गरी ११ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् ।
यसैगरी बाँकेमा ८४ दुर्घटनामा ६ जनाको मृत्यु र १४२ जना घाइते, नवलपरासीमा ३५ दुर्घटनामा ४ जनाको मृत्यु र ५८ जना घाइते तथा दाङमा २४ दुर्घटनामा ३ जनाको मृत्यु र ५० जना घाइते भएका छन् ।
पाल्पा, गुल्मी, अर्घाखाँची, बर्दिया, प्युठान, रोल्पा र रुकुम पूर्वमा पनि विभिन्न दुर्घटनामा परी धनजनको क्षति भएको विवरणमा उल्लेख छ । दुर्घटनाको मुख्य कारण तीव्र गतिट्राफिक प्रहरीको कारण विश्लेषण अनुसार सवारी दुर्घटना हुनुको प्रमुख कारण तीव्र गति रहेको पाइएको छ । कुल ४१८ दुर्घटनामध्ये २८७ वटा दुर्घटना तीव्र गतिका कारण भएका हुन् ।
त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा ७३ वटा, चालकको असक्षमता वा लापरवाहीका कारण ३९ वटा, ब्रेक फेल भएर ६ वटा, अन्य लापरवाहीले ६ वटा, छाडा चौपाया र जनावरका कारण ४ वटा, हतारमा बाटो काट्दा २ वटा र अनावश्यक ओभरटेकका कारण १ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई गरिएको चेकिङका क्रममा ट्राफिक प्रहरीले साउन महिनाभरि ठूलो परिमाणमा कारबाही गरेको छ । महिनाभर १० हजार ४५७ वटा सवारी साधनलाई कारबाही गरी १ करोड ३२ लाख ६९ हजार ५०० रूपैयाँ राजस्व सङ्कलन गरिएको छ । कारबाही परेकामध्ये ३ हजार ५९९ वटा मापसे, ८०५ वटा तीव्र गति, ४२ वटा टिभिआरएस कारबाही, ९ वटा स्वरूप परिवर्तन र ४ वटा लागूऔषध सेवन (लापसे) गरेर सवारी चलाइएका रहेका छन् ।
ओभरलोड नियन्त्रणका क्रममा १ हजार ८५९ वटा सवारी साधनलाई यातायात कार्यालयमा पठाई १ करोड ८५ लाख ९० हजार रूपैयाँ बराबरको कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सृजनशील कार्य र सचेतनामूलक अभियानसाउन महिनामा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न सृजनशील तथा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।
प्रदेशभर आयोजना गरिएका १ हजार १७१ वटा जनचेतना कार्यक्रमबाट ६३ हजार ११० जना नागरिक लाभान्वित भएका छन् । यसका साथै, पाल्पामा हिट एण्ड रन केसमा संलग्न स्कुटर र चालकलाई नियन्त्रणमा लिइएको छ । पाल्पा र अर्घाखाँचीमा ४ पटक स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरी ५९२ जनाको स्वास्थ्य जाँच गरिएको छ भने ३३० वटा सवारीमा स्टिकर टाँस र २१० वटा कालो स्टिकर झिकिएको छ ।
कपिलवस्तु, बर्दिया र बाँकेमा गरी ३ वटा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । रोल्पाका २ र कपिलवस्तुका ५ गरी ८ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि प्रक्रिया अगाडि बढाइएको छ । अविरल वर्षाका कारण पहिरो गई अवरुद्ध भएका राजमार्गहरूलाई प्रहरीले साउन महिनामा २६ पटक सुचारु गराएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाले ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्न सबैमा अनुरोध गरेका छन् । यात्राका क्रममा कुनै समस्या, जिज्ञासा वा दुर्घटना भएमा नजिकैको ट्राफिक प्रहरी वा टोल फ्री नम्बर १००÷१०३ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।