Butwal Today

एनडीपीएलका तीन अभियानले जिते ४ प्रतिष्ठित अवार्ड

७ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौं । नेपाल डिस्टिलरिज प्रालि (एनडीपीएल) ले फ्लेम अवार्ड एसिया २०२६ मा चार प्रमुख सम्मान प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित अवार्ड समारोहमा एनडीपीएलका दुई प्रमुख ब्रान्डका अभियानले दुई स्वर्ण, एक रजत र प्रतिष्ठित दक्षिण एसिया ग्रान्ड प्रिक्स जितेका हुन् ।

दक्षिण एसियामा अनुभवात्मक मार्केटिङ, ब्रान्ड सक्रियता, उपभोक्ता संलग्नता तथा नवीनताका क्षेत्रमा उत्कृष्ट कामलाई सम्मान गर्दै आएको फ्लेम अवार्ड एसिया २०२६ मा एनडीपीएलका विजयी अभियानहरूको सिर्जनात्मक एजेन्सी आउटरीच नेपाल रहेको छ ।

एनडीपीएलको ‘मेरो खुकुरी’ अभियानले दुई स्वर्ण पदक जितेको छ । अभियानले ‘दक्षिण एसिया इमर्जिङ मार्केट अभियान’ र ‘दक्षिण एसिया लास्ट–माइल इनोभेसन’ विधामा स्वर्ण प्राप्त गरेको हो ।

पुस्तौंदेखि उपभोक्तासँग कायम रहेको खुकुरी ब्रान्डको सम्बन्धलाई अपनत्व र आफ्नोपनको अभिव्यक्तिका रूपमा प्रस्तुत गर्दै अभियानले उपभोक्तालाई नै ब्रान्ड कथाको केन्द्रमा राखेको थियो ।

त्यस्तै, एनडीपीएलको न्युड ब्रान्डको ‘जस्ट बी यु’ अभियानले प्रतिष्ठित दक्षिण एसिया ग्रान्ड प्रिक्स जितेको छ । व्यक्तिगत पहिचान, प्रामाणिकता र आत्म–अभिव्यक्तिमा केन्द्रित उक्त अभियानले ब्रान्डको विश्वासलाई साहसी तथा सांस्कृतिक रूपमा सान्दर्भिक सञ्चारमार्फत प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, ‘पोखरा फ्ल्यास मोब’ अभियानले ‘स्मल बजेट क्याम्पेन–दक्षिण एसिया’ विधामा रजत पदक जितेको छ । सीमित बजेटमा पनि स्थानीय उपभोक्ताको बुझाइ, सिर्जनशील अवधारणा र प्रभावकारी कार्यान्वयनमार्फत उल्लेखनीय प्रभाव सिर्जना गर्न सकिने अभियानले देखाएको कम्पनीको दाबी छ ।

एनडीपीएलका अनुसार चारवटै सम्मान फरक–फरक अभियान र विधाबाट प्राप्त भए पनि तिनको आधार मानिस र संस्कृतिको गहिरो बुझाइ हो । कम्पनी र आउटरीच नेपालको सिर्जनात्मक साझेदारीमार्फत ब्रान्ड रणनीति, उपभोक्ता अन्तर्दृष्टि, सिर्जनशीलता र कार्यान्वयनलाई एकीकृत गर्दै नेपाली परिवेशमा आधारित कामलाई क्षेत्रीय मञ्चमा पुर्‍याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले यी सम्मानलाई अवार्डको संख्याभन्दा पनि नेपाली बजार र उपभोक्ताबाट जन्मिएका सिर्जनात्मक विचारले दक्षिण एसियाका उत्कृष्ट कामसँग प्रतिस्पर्धा गर्न सक्ने प्रमाणका रूपमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?