© 2026
सल्यान ।
कपुरकोट गाउँपालिका–३ पाखापानीका स्थानीय नेकमान बुढाथोकीले गाउँको सडक पहिरोले अवरुद्ध भएको एक साता बितिसक्दा पनि मर्मत नभएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।
‘नेताज्यू, हाम्रो गाउँमा पहिरो गएको आज एक हप्ता भइसक्यो । हजुरहरूलाई बारम्बार भन्दा पनि किन यति अटेरी गर्नुभएको छ रु रातदिन नभनी लगाएको तरकारी दुई बजार भइसक्यो, बेच्न पाएका छैनौँ । साँच्चिकै हामीले यही भोग्नलाई हो हजुरहरूका लागि दिनरात दुःख गरेको रु तपाईंहरूको एकछाकेको राजनीति कहिलेसम्म टिक्ला, हेरौँला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पाखापानीको मठखन्नी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । तरकारी उत्पादन गरी बजार पठाउने मुख्य समयमा सडक बन्द हुँदा स्थानीय किसानको मेहनत र लगानी खेतबारीमै खेर जाने अवस्था आएको छ ।
स्थानीयका अनुसार गाउँपालिकालाई पटक–पटक सडक अवरुद्ध भएको जानकारी गराउँदा पनि सडक खुलाउनेतर्फ पर्याप्त चासो दिइएको छैन । वडा नम्बर ३ कै लामिडाँडाको अवस्था पनि उस्तै छ । त्यहाँ महिनौँदेखि सडक अवरुद्ध छ । वर्षाका कारण सडक चिराचिरा परेको छ भने ठाउँ–ठाउँमा पहिरो खसेका कारण सडकमा सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन ।
स्थानीयका अनुसार असारे झरीका बेला केही साताअघि सडकको मोड सुधार गर्ने नाममा जथाभावी डोजर चलाइएपछि सडकको अवस्था झनै बिग्रिएको हो ।
सडक अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर किसान र बिरामीलाई परेको स्थानीय मोहन डाँगीले बताए । खेतबारीमा उत्पादन भएको तरकारी बजारसम्म पुर्याउन नसकिएको र बिरामीलाई उपचारका लागि बजार वा अस्पताल लैजानसमेत समस्या भएको उनको भनाइ छ ।
कपुरकोट–पाखापानी र किमुचौर–लामिडाँडा–सातबास सडक सामान्य ग्रामीण सडक मात्र होइनन् । यी सडक सल्यान र दाङलाई जोड्ने राप्ती राजमार्गका वैकल्पिक मार्गसमेत हुन् । तर महत्त्वपूर्ण सडक सामान्य मर्मतसम्भारको अभावमा महिनौँदेखि जीर्ण हुँदा पनि कपुरकोट गाउँपालिका मुकदर्शक बनेको स्थानीयको आरोप छ ।
स्थानीय सरकारका जनप्रतिनिधिको पहिलो कार्यकालमै निर्माण गरिएका यी दीर्घकालीन महत्त्वका सडकको स्तरोन्नति त परको कुरा, नियमित रूपमा सवारीसाधन सञ्चालन हुन सक्ने गरी सामान्य मर्मतसम्भारसमेत हुन नसकेको भन्दै स्थानीय निराश छन् ।
तरकारी बिक्री गर्न नपाएर खेतबारीमै कुहिने अवस्था आउँदा र बिरामीलाई अस्पतालसम्म पुर्याउनसमेत कठिनाइ भइरहँदा गाउँपालिकाले बेवास्ता गरेको स्थानीयको गुनासो छ । स्थानीयले गाउँपालिकाको नेतृत्वमाथि क्षेत्रीय तथा गुटगत राजनीतिका कारण विकास निर्माणमा विभेद गरेको आरोपसमेत लगाएका छन् ।