Butwal Today

एक महिनामा २३ नयाँ मुद्दा दर्ता, ११ जना पक्राउ

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले साउन महिनामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरूबाट अदालतको फैसला कार्यान्वयनका क्रममा ३५ वर्ष कैद र ३४ लाख ३४ हजार २४० रुपैयाँ जरिवाना असुलीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पक्राउ परेकामध्ये डाँका चोरी मुद्दामा ६ वर्ष कैद र २२ लाख ३७ हजार ५६० रुपैयाँ जरिवाना तोकिएका प्रकाश घर्ती मगर तथा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला भएपछि करिब २० वर्षदेखि फरार रहेका श्यामबहादुर झाँक्री मगर छन् ।

प्रहरीका अनुसार साउनमा जिल्लाभर २३ वटा नयाँ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा १३ जना प्रतिवादी रहेकामा ११ जना पक्राउ परिसकेका छन् भने दुई जना फरार छन् । अपराध अनुसन्धान र फरार प्रतिवादी पक्राउलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

प्रहरीले साउनमा विभिन्न स्थानबाट चार थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । यस्तै, ५५ रोपनी क्षेत्रफलमा लगाइएको करिब पाँच हजार ९०० गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ ।

थवाङ गाउँपालिका–१ सुकिदाँडास्थित सामुदायिक वनबाट २५ दशमलव ८५ क्युफिट अवैध सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै, बाटोमा लैजाँदै गरिएको १५ क्विन्टल आलुसमेत बरामद गरिएको थियो ।

रोल्पा नगरपालिका–२ धाक्सी खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा एउटा ट्र्याक्टर नियन्त्रणमा लिई पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । साउनमा रोल्पामा १० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते र २० जना सामान्य घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

सवारीसाधन जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने २४५ वटा सवारीसाधनमाथि कारबाही गरी दुई लाख ४८ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारबाहीको उद्देश्य राजस्व सङ्कलनभन्दा पनि सवारी अनुशासन कायम गर्नु र सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको छ ।

साउनमा रोल्पामा बाढी, पहिरो, चट्याङलगायत प्राकृतिक विपद्का ६१ वटा घटना भएका छन् । ती घटनामा १२ जनाको मृत्यु, १२ जना घाइते र एक जना बेपत्ता भएका छन् ।

थवाङ गाउँपालिका–५ कोटलबारामा गएको ठुलो पहिरोका कारण घर पुरिँदा तथा नदी किनारबाट ११ जनाको शव फेला परेको घटनालाई प्रहरीले साउनको गम्भीर विपद्का रूपमा उल्लेख गरेको छ । लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर ५९ वर्षीय वीरबहादुर खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्का घटनाबाट १३ घर, गोठ तथा पसलमा क्षति पुगेको र प्रारम्भिक अनुमानअनुसार करिब एक करोड १९ लाख ४० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीको विवरणमा उल्लेख छ । विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि ३६७ जना प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले अपराध न्यूनीकरण तथा नागरिक सचेतना अभिवृद्धिका लागि साउनमा १३४ वटा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रममा ३३ हजार ५१५ जना नागरिक सहभागी भएका थिए ।

कार्यक्रममार्फत घरेलु हिंसा, बालविवाह, लागूऔषध दुव्र्यसन, आत्महत्या रोकथाम तथा साइबर अपराधलगायत विषयमा नागरिकलाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

यस्तै, ट्राफिक प्रहरीले चालक, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी ४६ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । ती कार्यक्रमबाट २१ हजार ३६१ जना लाभान्वित भएको प्रहरीको विवरणमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले अपराध नियन्त्रणसँगै सडक सुरक्षा, विपद् व्यवस्थापन, अवैध गतिविधि नियन्त्रण र नागरिक सचेतनाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । प्रहरीले शान्ति सुरक्षा कायम गर्न नागरिकको सूचना र सहयोग आवश्यक रहेको भन्दै आपराधिक तथा अवैध गतिविधिबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?