© 2026
नेपालगञ्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि संयुक्त प्यानलले २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । संघलाई सबै उद्योगी–व्यवसायीको साझा, सबल र विश्वसनीय संस्था बनाउँदै बाँकेको आर्थिक समृद्धिका लागि काम गर्ने प्रतिबद्धता संयुक्त प्यानलले जनाएको हो । संयुक्त प्यानलले बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामी, संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, महासंघका सदस्य तथा संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियार, अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओली, संघका महासचिव भीमबहादुर रानाभाट, पूर्वमहासचिव विष्णु लामिछाने र पूर्वसदस्य भास्कर काफ्ले लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
‘व्यावसायिक एकता, सहकार्य र पारदर्शिता ः बाँकेको आर्थिक समृद्धि नै हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा संघको संस्थागत सुदृढीकरणदेखि औद्योगिक विकास, लगानी प्रवद्र्धन, पर्यटन, कृषि, युवा तथा महिला उद्यमशीलता, बजार व्यवस्थापन र व्यवसायीको सामाजिक सुरक्षासम्मका विषय समेटिएका छन् । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारले प्रतिबद्धता पत्रमा समेटिएका विषयवस्तु प्रस्तुत गरेका हुन् ।
संयुक्त प्यानलले संघलाई थप सबल र समावेशी बनाउन जिल्लाका सबै स्थानीय तहमा रहेका उद्योगी–व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । पालिकास्तरमा उद्योग वाणिज्य संघ गठन गरी पालिका अध्यक्षलाई जिल्ला कार्यसमितिको पदेन सदस्यका रूपमा प्रतिनिधित्व गराउने तथा ‘मेरो संघ, मेरो सदस्यता’ अभियानमार्फत सदस्यता विस्तार गर्ने योजना अघि सारिएको छ । त्यसैगरी विधानमा आवश्यक संशोधन गरी संघको सदस्यता तथा निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउने प्रतिबद्धता गरिएको छ ।
संयुक्त प्यानलले सरकारले शिलान्यास गरेको लामो समय बितिसक्दा पनि पूर्वाधार विकास हुन नसकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि सरकारसँग निरन्तर पहल र दबाब दिने जनाएको छ । नेपालगन्जको राँझा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गरी नेपालका प्रमुख सहरसँगै भारतको नयाँ दिल्ली लगायतका प्रमुख सहरमा सिधा हवाई उडान सञ्चालनका लागि पहल गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । बाँकेलाई औद्योगिक उत्पादन, व्यापार, शिक्षा र स्वास्थ्य सेवाको प्रादेशिक हबका रूपमा विकास गर्न दीर्घकालीन योजना बनाउने र सरकारी तथा गैरसरकारी निकायसँगको साझेदारीमा लगानी सम्मेलन आयोजना गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।तेस्रो मुलुकबाट हुने आयात–निर्यातलाई सहज बनाउन सुख्खा बन्दरगाह निर्माणका लागि सरकारसँग पहल गर्ने तथा नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) मा मालसामान आयात–निर्यातमा लाग्ने समय र लागत घटाउन आवश्यक पूर्वाधार तथा व्यवस्थापन सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने योजना छ ।
युवा तथा महिला उद्यमशीलता प्रवद्र्धनका लागि स्टार्टअप कार्यक्रम सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्ने, सीप विकास तथा स्वरोजगारमूलक तालिम सञ्चालन गर्ने र महिला तथा युवा उद्यमीका उत्पादनको बजार विस्तार तथा ब्रान्डिङमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । स्थानीय कृषि उत्पादनको बजारीकरण, ब्रान्डिङ, प्याकेजिङ र गुणस्तर सुधारमा पहल गर्ने तथा आवश्यकताका आधारमा सहरी क्षेत्रमा हाटबजार सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने योजना पनि छ । जडिबुटी संकलन, प्रशोधन, भण्डारण तथा निर्यातलाई सहज बनाउन सम्बन्धित व्यवसायी संघ तथा निकायसँग सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ ।
नेपाल–भारत सीमाबाट हुने अवैध आयात–निर्यात तथा चोरी–पैठारी नियन्त्रणका लागि भन्सार, प्रहरी र प्रशासनसँग नियमित समन्वय गर्ने तथा स्वदेशी उत्पादनको प्रयोग र स्वदेशमै खरिदारी गर्न उपभोक्ता सचेतना अभियान सञ्चालन गर्ने जनाइएको छ । बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बाबा बर्फानी, सन्तानेश्वरलगायत जिल्लाका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि पर्यटन बोर्ड, पर्यटन कार्यालय, नाट्टा, होटल, ट्राभल तथा टुर व्यवसायी र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्ने योजना अघि सारिएको छ । थानीय उत्पादन र व्यापार व्यवसायको प्रवद्र्धनका लागि नेपालगन्जमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महोत्सव, व्यापार मेला, रोजगार मेला, उद्यमशीलता कार्यक्रम तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता पनि गरिएको छ । नेपालगन्ज बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउन फोहर व्यवस्थापन, सौन्दर्यकरण, ट्राफिक व्यवस्थापन, फुटपाथ, पार्किङ, सडक, सडकबत्ती, खानेपानी, सुरक्षा, यातायात तथा सार्वजनिक शौचालयलगायतका विषयमा स्थानीय सरकार र सम्बन्धित निकायसँग सहजीकरण गर्ने जनाइएको छ ।
उद्योगी–व्यवसायीका लागि आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा विभिन्न अस्पतालसँग सहकार्य गरी सदस्यलाई सहुलियत दरमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ । व्यवसायीको जीवन सुरक्षाका लागि सामूहिक बिमा कार्यक्रमलाई निरन्तरता दिने तथा संघको सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरी व्यवसायीलाई सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने र व्यवसायमैत्री कर, राजस्व, भन्सार, बैंकिङ, उद्योग, वाणिज्य तथा पर्यटनसम्बन्धी नीति तथा कानुन निर्माणका लागि सरकारलाई सुझाव दिने प्रतिबद्धता जनाइएको छ ।
संयुक्त प्यानलले व्यवसायीको स्वास्थ्य र पारिवारिक जीवनलाई ध्यानमा राख्दै महिनामा कम्तीमा एक दिन बजार बन्द गर्ने प्रस्तावसमेत अघि सारेको छ । व्यावसायिक व्यस्तताका कारण व्यवसायीले आफ्नो स्वास्थ्य, परिवार र व्यक्तिगत जीवनलाई पर्याप्त समय दिन नसकेको भन्दै आम व्यवसायीसँग राय–सल्लाह लिएर हरेक महिना एक दिन बजार बन्द गर्ने निर्णय कार्यान्वयन गर्ने योजना रहेको जनाएको छ । त्यस्तै, डिजिटल मार्केटिङ, लेखा, कर, वित्तीय साक्षरता, नेतृत्व तथा व्यवस्थापनलगायत विषयमा तालिम सञ्चालन गर्ने तथा भन्सार, कर, राजस्व, मौद्रिक नीति, बैंकिङ र सरकारी नीतिबारे व्यवसायीलाई सचेत गराउने कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ । व्यवसायीले कानुनी जटिलता, कर, राजस्व तथा अनुगमनका क्रममा भोग्ने समस्यामा सहजीकरण गर्न संघभित्रै व्यवसायिक सहायता कक्ष तथा परामर्श केन्द्र स्थापना गर्ने र सदस्यका गुनासा सुनुवाइ तथा समाधानका लागि पहल गर्ने योजना पनि सार्वजनिक गरिएको छ । संघबाट प्रदान गरिने सेवा छिटो, छरितो र प्रभावकारी बनाउँदै कार्यालयलाई पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी बनाउने तथा कर्मचारीको क्षमता अभिवृद्धिमा समेत जोड दिने प्रतिबद्धता संयुक्त प्यानलले जनाएको छ ।
कार्यक्रममा संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओलीले पत्रकारले राखेका जिज्ञासाको जवाफ दिँदै आफूहरूको टिम विशुद्ध उद्योगी–व्यवसायीको साझा टिम भएको बताए । उनले निर्वाचित भएमा तीनवर्षे कार्यकालमा राजनीतिक प्रभावभन्दा माथि उठेर उद्योगी–व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । संघलाई कुनै समूह वा प्यानल विशेषको नभई जिल्लाका सम्पूर्ण उद्योगी–व्यवसायीको साझा संस्था बनाउने उनकोे भनाइ थियो । निर्वाचन परिचालन समितिका संयोजक रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामी, पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्य तथा पूर्वमहासचिव विष्णु लामिछानेले संयुक्त प्यानलका उम्मेदवारलाई मतदान गर्न उद्योगी–व्यवसायीसँग अपिल गरे ।
संयुक्त प्यानलबाट संघको अध्यक्षमा चिरञ्जीवी ओली, महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्याय उम्मेदवार रहेकाछन् ।सदस्यतर्फ तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, इन्जिनियर नगेन्द्र शाही र शरदप्रसाद रिजाल उम्मेदवार रहेकाछन् । संघको २१ सदस्यीय कार्यसमितिमा संयुक्त प्यानलबाट उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ, एसोसिएट सदस्यमा राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्वाचित भइसकेको जनाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ ६ गते निर्वाचन हुँदैछ ।