© 2026
दाङ । दाङमा प्रहरीले चार दिनको अवधिमा अवैध ३७ थान भरुवा बन्दुक बरामद गरेको छ ।
भदौको १ गतेदेखि ४ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न जंगलहरूको झाडीमा लुकाई राखिएका ३७ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
जिल्लाका विभिन्न स्थानका जंगलमा भरुवा बन्दुक लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा साउन १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनबाट खटिएका प्रहरी टोलीले जंगलका विभिन्न स्थानमा लुकाई राखिएका बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिएका छन् ।
उनका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका–३ भित्री खोला सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक २ नाल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बङ्गलाचुली गाउँपालिका–४ भुमेबराह सामुदायिक वनबाट ४ थान, ल्वाङे भत्कुले सामुदायिक वनबाट १ थान र वडा नं। ५ तल्लो मुर्कुटीबाट २ थान गरी जम्मा ७ नाल बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बन्गैबाट खटिएको टोलीले लमही नगरपालिका–७ बन्गै स्थित स्वर्गद्वारी सामुदायिक वनबाट ९ नाल बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–१४ दिव्यज्योति सामुदायिक वनबाट १ नाल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका वडा नं। ५ चक्ला राष्ट्रिय वनबाट १ नाल र अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको टोलीले लमही नगरपालिका–१ सुन्डबरी सामुदायिक वनबाट ४ नाल बरामद गरेको छ ।
प्रहरी चौकी पुरन्धारबाट खटिएको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल बरामद गरेको छ भने प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बङ्लाचुली गाउँपालिका–८ हंसपुर दैले ढुङ्गा सामुदायिक वनबाट ५ थान र वडा नं ३ भेडाबारी राष्ट्रिय वनबाट २ थान गरी जम्मा ७ नाल बरामद गरेको छ ।
प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले घोराही–१९ बाम्ला स्थित पालुङ सामुदायिक वनबाट १ नाल र प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले तुल्सिपुर उपमहानगरपालिका–१ छोटे स्थित नबदुर्गा सामुदायिक वनबाट १ नाल बरामद गरेको छ ।
त्यसैगरी अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको टोलीले तुलसीपुर–३ कालामारी जंगलबाट २ नाल र अस्थायी प्रहरी पोष्ट छिल्लीकोटबाट खटिएको टोलीले तुलसीपुर –१९ सुङ्गुर खोला स्थित कालिका सामुदायिक वनको ओडारमुनिबाट १ नाल बरामद गरेको छ । बरामद भएका सबै भरुवा बन्दुकसँग सम्बन्धित थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।