© 2026
चन्द्रौटा ।
कपिलवस्तुमा दोस्रो बाणगंगा राइडर्स साइकल यात्रा–२०८३ आयोजना हुने भएको छ । बाणगंगा नगरपालिकामा बाणगंगा राइडर्स क्लबले आगामी असोज १० गते साइकल यात्रा आयोजना गर्न लागेको हो । ‘स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ एकदिने साइकल यात्रा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै करिब चार सय साइकल यात्री सहभागी हुने यात्राको दूरी ७० किलोमिटर रहने जानकारी दिएको हो । कार्यक्रम संयोजक हरिप्रसाद घिमिरेले कपिलवस्तुका ऐतिहासिक, धार्मिक तथा बुद्धकालीन सम्पदाको प्रचार–प्रसारसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यात्रा आयोजना गर्न लागिएको बताए । वातावरण संरक्षण र स्वस्थ जीवनशैलीको सन्देश फैलाउने लक्ष्यसमेत रहेको उनले जनाए ।
जिल्लाको जीतपुर चोकबाट सुरु हुने यात्राले साइकल संस्कृतिको विकाससँगै युवालाई सक्रिय जीवनशैलीतर्फ आकर्षित गर्ने घिमिरेले बताए ।
क्लबका अध्यक्ष विष्णुप्रसाद सापकोटाले साइकल यात्रामार्फत जिल्लाका पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा सहयोग पुग्ने बताए । सामाजिक एकता, युवामा सकारात्मक सोचको विकास तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
यात्रालाई व्यवस्थित बनाउन पाँच सदस्यीय मूल आयोजक समिति र १० वटा उपसमिति गठन गरिएको अध्यक्ष सापकोटाले बताए ।