Butwal Today

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

ललितपुर ।

इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा पाँच वर्षीया बालिकामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

किष्ट प्रत्यारोपण केन्द्रले यही भदौ २ गते ३३ वर्षीया आमाबाट पाँच वर्षीया छोरीमा जीवित दाता कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रबन्ध निर्देशक डा अविषेक थापाले जानकारी दिए । उनका अनुसार नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासका दृष्टिले यो महत्त्वपूर्ण उपलब्धि हो ।

विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो । प्रत्यारोपण अघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो । करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको डा थापाले बताए ।

भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी पाँच वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन । आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष इ आशिष थापाले नेपालमै निजी अस्पतालबाट बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताए । “यस्तो जटिल उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यअनुसार अस्पतालले दक्ष जनशक्ति, प्रविधि र पूर्वाधारको विकासमा निरन्तर लगानी गर्दै आएको छ । यस सफलताले नेपालमा बालबालिकाका लागि थप जटिल तथा विशेषज्ञ उपचार सेवा विस्तार गर्ने हौसला प्रदान गरेको छ”, उनले भने ।

त्यस्तै, अस्पतालका प्रबन्ध निर्देशक डा अविषेक थापाले पाँच वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण किष्टका लागि मात्र नभई समग्र नेपाली स्वास्थ्य क्षेत्रकै महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले बालबालिकाका जटिल स्वास्थ्य समस्याको उपचारका लागि आवश्यक विशेषज्ञ टोली, अत्याधुनिक पूर्वाधार र समन्वयात्मक उपचार प्रणालीलाई थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार आगामी दिनमा किष्टलाई बालबालिकाका लागि बहुविशेषज्ञ उपचार सेवा उपलब्ध गराउने केन्द्रका रूपमा थप विकास गरिनेछ । बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ । यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ । किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

एउटी आमाको त्याग, चिकित्सकको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले पाँच वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ । यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्त्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको अस्पतालका मिडिया कन्सल्टेन्ट राजकुमार सिल्वालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?