Butwal Today

कतारमा सात प्रदेश, एक देश, एउटै सन्देशसहित बृहत् रक्तदान कार्यक्रम हुँदै

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

दोहा, कतार । ‘सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश’ भन्ने मूल नाराका साथ कतारमा क्रियाशील सात वटै प्रदेश समन्वय परिषद्को संयुक्त आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा शुक्रवार बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली समुदायलाई एकता र सामाजिक सेवामा जोड्ने उद्देश्यले सात प्रदेश समन्वय परिषद्ले ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने भावनालाई आत्मसात् गर्दै उक्त सामाजिक अभियान सञ्चालन गर्न लागेको हो ।

कतारमा स्थापित सात वटै प्रदेश—कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम—का समन्वय परिषद्हरूले आपसी भाइचारा, एकता तथा सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाउन साझा मञ्चका रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

रोजगारीका लागि प्रवासमा रहे पनि मानवीय सेवामा नेपालीहरू सधैँ अग्रस्थानमा रहन्छन् भन्ने सन्देश दिन कार्यक्रम महत्त्वपूर्ण हुने आयोजकहरूले बताएका छन् ।

भूगोल र प्रदेशका आधारमा विभाजित नभई ‘एक देश’ का नागरिकका रूपमा नेपाली समुदायबिच एकताको भावना अभिवृद्धि गर्न तथा कतारको स्थानीय समुदाय र अस्पताललाई आवश्यक रगत सङ्कलनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ ।

‘रक्तदान एउटा महान् मानवीय सेवा हो । एकताबद्ध भएर रक्तदान गरौँ, मानवताको सेवामा योगदान पुर्‍याऔँ र कसैको जीवन बचाउने महान् अभियानमा सहभागी बनौँ’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा कतारमा क्रियाशील विभिन्न सामाजिक सङ्घ–संस्था तथा सम्पूर्ण नेपाली समुदायलाई सहभागी भई रक्तदान गर्न सात वटै प्रदेश समन्वय परिषद्ले आग्रह गरेका छन् ।

कार्यक्रम शुक्रवार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हमद अस्पतालको ब्लड डोनेसन सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक रक्तदाताहरूलाई आफ्नो सक्कली कतारी परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर तोकिएको समयमा उपस्थित हुनसमेत परिषद्ले अनुरोध गरेको छ ।

आयोजकहरूले कतारमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा मानवीय सेवाको यो अभियानलाई सफल बनाउन सहयोग गर्न आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?