© 2026
रोल्पा ।
लगातारको वर्षासँगै बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि विद्यार्थी र शिक्षकको सुरक्षालाई ध्यानमा राख्दै रोल्पाका लुङ्ग्री र सुनछहरी गाउँपालिकाले विद्यालय बन्द गरेका छन् ।
लुङ्ग्री गाउँपालिकाले भदौ २ गतेदेखि ५ गतेसम्म विद्यालय बन्द गरेको छ । गाउँपालिकाका विभिन्न विद्यालय पुग्ने पैदल मार्ग तथा सडक अवरुद्ध हुनुका साथै साना–ठुला खोला र खहरेमा पानीको बहाव बढेपछि आवतजावत जोखिमपूर्ण बनेकाले विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
लुङ्ग्री गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकामा बाल विकास केन्द्रसहित विभिन्न तहका १ सय १९ शैक्षिक संस्था छन् । ती विद्यालयमा करिब ८ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । भौगोलिक रूपमा विकट र जोखिमयुक्त क्षेत्रमा विद्यालय रहेकाले वर्षायाममा विद्यार्थी तथा शिक्षकलाई विद्यालयसम्म पुग्न समस्या हुने गरेको छ ।
लुङ्ग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा १ सय ८१ घर पहिरोको उच्च जोखिममा छन् । बाढी पहिरोका कारण एक जनाको मृत्यु भएको तथा चट्याङबाट अर्का एक जनाको मृत्यु भएको उनले बताए । जोखिमका कारण ६० भन्दा बढी परिवार घर छाडेर खुला मैदान, आफन्तको घर तथा अस्थायी टेन्टमा बसिरहेका छन् ।
यस्तै, सुनछहरी गाउँपालिकाले भदौ १ गतेदेखि ५ गतेसम्म गाउँपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष धनबहादुर पुनका अनुसार बाढी पहिरोका कारण जनधनको ठुलो क्षति हुनुका साथै सडक तथा पैदल मार्ग अवरुद्ध भएकाले विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गरिएको हो ।
गाउँपालिकाका अनुसार साउन २८ गतेदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी हालसम्म सात जनाको मृत्यु र एक जना घाइते भएका छन् । सयौँ पशु चौपाया मरेका छन् भने सयौँ घर तथा विद्यालयसमेत उच्च जोखिममा रहेका छन् ।
निरन्तर वर्षा भइरहेका कारण बाढी, पहिरो, खोलानाला तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक आवतजावत नगर्न दुवै गाउँपालिकाले स्थानीय वासीलाई आग्रह गरेका छन् । विद्यालय बन्द भए पनि शिक्षक तथा कर्मचारीलाई विद्यालयको अवस्था नियमित अनुगमन गर्न भनिएको छ ।
मौसममा सुधार आएपछि जोखिमको अवस्था मूल्याङ्कन गरी विद्यालय सञ्चालन गर्ने तयारी गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । विद्यार्थीको पढाइभन्दा विपद्को समयमा उनीहरूको सुरक्षा प्राथमिक विषय भएकाले विद्यालय बन्द गरिएको स्थानीय तहका अधिकारीहरूको भनाइ छ ।