Butwal Today

दुबोले फेरिएको चिदीचौर

३ भाद्र २०८३, बुधबार
अ+
अ-

गुल्मी । जिल्ला सदरमुकाम तम्घासको ‘गहना’ भनेर चिनिने चिदीचौर खेल मैदानको पुनः निर्माणपछि दुबो लगाउने काम सम्पन्न भएसँगै यति बेला चिदीचौर चिटिक्क र आकर्षक बनेको छ ।

उक्त खेल मैदानको निर्माणका लागि २०८२ वैशाखदेखि काम सुरु भएको थियो । निर्माणको काम सम्पन्न भएपछि अहिले चिदीचौरको स्वरूप नै फेरिएको छ ।

विगतमा वर्षायाममा हिलाम्मे हुने चिदीचौर यति बेला हरियो कार्पेट बिछ्याए जस्तै सुन्दर देखिएको छ । खेल मैदान व्यवस्थित बनेसँगै खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने मात्र नभई चिदीचौरको सौन्दर्यसमेत बढेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । “यो गुल्मी जिल्लाको गहना हो, त्यसैले हामीले यसलाई खेलकुदको प्रवर्द्धनसँगै चिदीचौरको दिगो संरक्षण गर्ने, कलात्मक मञ्च निर्माण गर्ने र यसको सौन्दर्यकरण गर्ने गरी काम अघि बढाएका छौ,” नगर प्रमुख पन्थीले भने ।

दुबो लगाएर हरियाली बनेपछि खेल मैदान हेर्न तथा तस्बिर खिच्न आउने सर्वसाधारणको समेत चहलपहल बढेको छ । चिदीचौर खेल मैदान निर्माणका लागि रेसुङ्गा नगरपालिकाको समन्वयमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत रु ९० लाख एक हजार २७० मा ठेक्का सम्झौता भई काम सुरु भएको थियो ।

बहुवर्षीय ठेक्का अन्तर्गत निर्माण गरिएको उक्त मैदानको काम सम्पन्न भए पनि निर्माण व्यवसायीले भने हालसम्म १५ लाख रूपैयाँमात्र भुक्तानी पाएको सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले बहुवर्षीय शीर्षकमा पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण सम्पन्न भए पनि बाँकी रकम भुक्तानी गर्न समस्या भएको कार्यालयले जनाएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले बाँकी रकम अन्य योजनाबाट रकमान्तर गरी चालु आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८३/८४ मा प्रदेश सरकारले यस आयोजनाका लागि एक लाख मात्र न्यून बजेट विनियोजन गरेको बताइएको छ । खेल मैदानलाई थप व्यवस्थित बनाउन रेसुङ्गा नगरपालिकाले दुबो लगाउने कार्यका लागि २० लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाको आर्थिक सहयोगमा मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको हो ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार खेल मैदानको लम्बाइ करिब १०० मिटर र चौडाइ ७० मिटर रहेको छ । पुरानो ठेक्का अन्तर्गत निर्माण व्यवसायीले १९ हजार वर्गफुट र नगरपालिकाले ५७ हजार वर्गफुट गरी कुल ७६ हजार वर्गफुट क्षेत्रमा दुबो लगाइएको छ । दुबो लगाउने कार्यका लागि जिल्ला स्थित सुरक्षा निकाय, विभिन्न सङ्घसंस्था, क्लब तथा स्थानीयवासी सहित चार सय भन्दा बढी व्यक्तिहरूले स्वतःस्फूर्त रूपमा जनश्रमदान गरेका थिए ।

खेल मैदान निर्माणको काममा ढिलाइ हुँदा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड, मेयर कप लगायत विभिन्न खेलकुद प्रतियोगिता सदरमुकाम भन्दा बाहिर लगेर सञ्चालन गर्नु परेको थियो । काममा ढिलाइ भएपछि सम्बन्धित कार्यालय र रेसुङ्गा नगरपालिकाले निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराउँदै कामलाई निरन्तरता दिन आग्रह गरेपछि पछिल्लो समयमा मात्र कामले गति लिएको थियो ।

लामो समयदेखि अलपत्र रहेको खेल मैदान व्यवस्थित बनेपछि खेलाडी, खेल प्रेमी तथा सर्वसाधारणहरू उत्साहित बनेका छन् । खेल मैदान व्यवस्थित भएपछि यसले जिल्लाको खेलकुद क्षेत्रसँगै आर्थिक क्षेत्रलाई समेत थप चलायमान बनाउन सहयोग पुग्ने बताइएको छ । चिदीचौर खेल मैदान निर्माणको काम काठमाडौँको रामेछाप कन्ट्रक्सनले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?