© 2026
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा एमालेको संसदीय कार्यालयमा भेला भएका छन्। एमालेसहित नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चालगायत सरकारको पक्षमा रहेका दलका सांसदहरू कार्यालयमा जुटेका हुन्। छलफलपछि उनीहरू सामूहिक रूपमा प्रदेशसभा बैठकमा जाने तयारीमा छन्।
सांसदहरूको उपस्थितिसँगै मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत जुटेको दाबी गरिएको छ। प्रदेशसभामा सरकारको पक्षमा मतदान गर्ने विषयमा पनि सांसदहरूबीच सहमति भएको बताइएको छ। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्। सरकारलाई विश्वासको मत दिलाउन एमालेसहित सरकारमा सहभागी दलहरूबीच यसअघि नै आवश्यक समन्वय गरिएको थियो।