© 2026
रोल्पा । बाढी, पहिरो र चट्याङबाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको रोल्पामा विपत् प्रभावित परिवारका लागि राहत जुट्ने क्रम बढेको छ । तर, लगातारको वर्षाका कारण सडक तथा पैदलमार्ग अवरुद्ध र जोखिमपूर्ण बनेपछि दुर्गम बस्तीमा राहत सामग्री पु¥याउन कठिनाइ भएको छ ।
विशेषगरी थबाङ, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका पहिरो प्रभावित तथा दुर्गम बस्तीमा राहत पु¥याउने कार्य चुनौतीपूर्ण बनेको हो । विभिन्न संघसंस्था, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र सहयोगी व्यक्तिले राहत सामग्री सङ्कलन गरे पनि प्रभावित बस्ती पुग्ने बाटो जोखिमपूर्ण हुँदा कतिपय ठाउँमा बिच बाटोबाटै स्थानीय जनप्रतिनिधिमार्फत राहत हस्तान्तरण गर्नुपर्ने अवस्था आएको छ ।
सुनछहरी गाउँपालिका–४ का इन्द्र गुरुङका अनुसार राहत सामग्री जुटे पनि प्रभावित बस्तीमा पुग्ने बाटो नहुँदा सहयोग गर्न कठिन भइरहेको छ । स्थानीय सरकारसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि वर्षा नरोकिँदा खुलेका बाटोसमेत पुनः अवरुद्ध हुने गरेको उनले बताए ।
“राहत हातमा छ, साथमा छ । तर, त्यहाँसम्म पुग्ने बाटोको समस्या छ । स्थानीय सरकारसँग समन्वय गरेर बाटो खुलाउने काम गरिरहेका छौँ,” उनले भने । उनका अनुसार प्रभावित बस्तीमा राहत लिएर पुग्ने क्रममा बाटोको अवस्था निकै जोखिमपूर्ण हुने गरेको छ । निरन्तरको वर्षाले सडक तथा पैदलमार्गमा पहिरो जाने, बाटो भासिने र खोलानाला बढ्ने गरेका कारण कतिपय राहत टोली प्रभावित क्षेत्रसम्म पुग्न नसकी स्थानीय प्रतिनिधि वा सम्बन्धित व्यक्तिलाई सामग्री बुझाएर फर्कन बाध्य भएका छन् ।
रोल्पामा पछिल्लो एक महिनायता भएका विभिन्न विपद्जन्य घटनामा २१ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरो, बाढी र चट्याङका कारण साउनमा मानवीय क्षति बढेको हो । एक साताको अवधिमा मात्रै १८ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लामा सबैभन्दा ठूलो मानवीय क्षति साउन २८ र २९ गते थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोबाट भएको थियो । पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो । पहिरोमा नौ घर, एक पसल, दुई गोठ र एक चर्चसहित १३ संरचना बगेका थिए । घटनापछि कोटलबारामा शोकसँगै त्रासको अवस्था रहेको स्थानीयले बताएका छन् ।
पहिरोबाट विस्थापित तथा प्रभावित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा र गैरखाद्य सामग्री आवश्यक परेपछि विभिन्न संस्थाले राहत वितरण थालेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिंह पुनमगरको नेतृत्वमा गएको टोलीले कोटलबाराका १० घरपरिवारलाई गैरखाद्य सामग्रीका प्याकेज वितरण गरेको छ । उनका अनुसार सुनछहरी गाउँपालिका–१ र २ का पहिरो प्रभावित परिवारलाई पोवाङ शाखामार्फत राहत उपलब्ध गराउने तयारी गरिएको छ ।
त्यस्तै, आईएनएफ नेपाल रोल्पा शाखाले कोटलबाराका सात घरपरिवारलाई करिब एक लाख ५० हजार रुपियाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । रणबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले दाल, चामल, नुनलगायत खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । लायन्स क्लब अफ रोल्पाले पनि पहिरो प्रभावित परिवारका लागि करिब ७० हजार रुपियाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
प्रभावित क्षेत्र उवासम्म पुग्ने बाटो जोखिमपूर्ण भएपछि क्लबका प्रतिनिधिले सुनछहरी गाउँपालिका–१ सेरम फुलिबनमा जनप्रतिनिधिलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
लायन्स क्लबका निवर्तमान अध्यक्ष केशवकुमार आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र आचार्य, पूर्व अध्यक्ष रमेश अधिकारी, कोषाध्यक्ष ओम केसी र संस्थापक सदस्य आशिष आचार्यलगायतको टोलीले राहत सामग्री हस्तान्तरण गरेको जनाइएको छ । फुलिबन क्षेत्रमा वर्षाका कारण पहिरो जाने क्रम नरोकिएको र उवा पुग्ने सडक तथा पैदलमार्ग जोखिमपूर्ण रहेकाले जनप्रतिनिधिमार्फत प्रभावित परिवारसम्म राहत पु¥याउने व्यवस्था गरिएको हो ।
यसैगरी रोल्पाली सेवा समाजले विभिन्न व्यक्ति तथा शाखाबाट सङ्कलन गरेको सहयोगबाट प्रभावित परिवारका लागि करिब एक लाख ६५ हजार रुपियाँ बराबरको खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडा उपलब्ध गराएको छ । समाजले ३५ हजार रुपियाँ नगद सहयोगसमेत गरेको जनाएको छ ।
यसअघि साउन २ गते परिवर्तन गाउँपालिका–४ पाछाबाङमा पहिरोमा परी ५७ वर्षीय देउप्रसाद घर्तीको मृत्यु भएको थियो । साउन ९ गते सुनछहरी गाउँपालिका–१ सेरममा पहिरोमा परी अमिरा घर्ती मगर र असौजी घर्ती मगरको मृत्यु भएको थियो ।
साउन २१ गते सुनछहरी गाउँपालिका–११ फुलिबननजिक बाच्छे खोलाले बगाउँदा ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको थियो । सामाजिक सुरक्षा भत्ता लिएर घर फर्किने क्रममा खोला तर्दा उहाँलाई खोलाले बगाएको थियो । घटनामा अर्का एक वृद्ध घाइते भएका थिए ।
सुनछहरी गाउँपालिका–२ फलबाङमा साउन २९ गते पहिरोले घर पुरिँदा एउटै परिवारका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनि घर्तीमगर र ७० वर्षीया लली घर्तीमगरको मृत्यु भएको थियो । सोही क्षेत्रमा पहिरोमा परी अर्का एक जनाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी साउन २९ गते लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको थियो । घरमै रहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साउन ३० गते राति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको थियो ।
जिल्लामा भएको मानवीय क्षतिको ठूलो हिस्सा पहिरोबाट भएको छ । पूर्वी रोल्पाका बस्ती विपद्बाट बढी प्रभावित भएका छन् । पहिरोका कारण कतिपय बस्ती तथा घर जोखिममा परेका छन् भने प्रभावित क्षेत्रमा त्रासको अवस्था कायम रहेको स्थानीयले बताएका छन् ।
स्थानीयवासीले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित परिवारलाई खाद्यान्न, अस्थायी आवास र स्वास्थ्य सेवासहित आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । राहत सामग्रीले तत्कालको आवश्यकता केही हदसम्म पूरा गरे पनि घर तथा सम्पत्ति गुमाएका परिवारको दीर्घकालीन पुनःस्थापना भने चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।
विपत् प्रभावित परिवारका लागि सुरक्षित आवास, जोखिमयुक्त बस्तीको पहिचान तथा स्थानान्तरण र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने देखिएको छ । स्थानीय सरकार, सुरक्षा निकाय, नेपाल रेडक्रस, गैरसरकारी संस्था तथा अन्य सहयोगी निकायबीच प्रभावकारी समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाले बताएका छन् ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढी, पहिरो र भूक्षयको जोखिम अझै कायम रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सम्भावित जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
रोल्पामा राहत सामग्री जुटाउने क्रम बढे पनि त्यसलाई प्रभावित बस्तीको घरदैलोसम्म पु¥याउनु अहिलेको मुख्य चुनौती बनेको छ । सडक तथा पैदलमार्ग तत्काल सञ्चालनमा ल्याउन सके राहत वितरण थप प्रभावकारी हुने देखिन्छ । राहतसँगै जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरण र दीर्घकालीन पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।